सिद्धार्थ राजमार्ग पुनः भासियो

श्रावण ४, २०७६ | पाल्पा 

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, भुतखोला नजिक शुक्रबार राति देखि पुनः सडक भासिएको छ । कम्तीमा ८० मिटर लम्बाईमा राजमार्ग भासिएको हो । सडक सवारी साधन एकतर्फी सञ्चालन गर्नुपर्ने अवस्था आएको स्थानीय विष्णुप्रसाद पाण्डेयले जानकारी दिए ।

उनका अनुसार पानी पर्ने हो भने सवारी साधन सञ्चालनमा समेत रोक लगाउनुपर्ने अवस्था आउने छ ।  

दुई वर्षअघि नै केही भागमा भासिन सुरु गरेको थियो । गतवर्ष वर्षामा झण्डै २ मिटरको गहिराईमा राजमार्ग भासिएको थियो । त्यसपछि केही भाग काटेर यातायात सञ्चालन गरेको थियो ।

डिभिजन सडक कार्यालयले सातासम्म बन्द गरेर करोड बढी खर्चेर गरेको सडक पुनः वर्षायामले भासिएको छ । ‘एक मिटर जति उचाईमा ग्राभेल राखेपछि मात्र गतवर्ष एकततर्फी यातायात सञ्चालन गर्न सकिएको हो,’ सडक डिभिजनका इन्जिनियर सौजन्य नेपालले भन्नुभयो, ‘पुनः भासिए पनि मिलाउन सकिन्छ ।’

डिभिजन सडक कार्यालयका प्रमुख इन्जिनियर केदार नेपालले गत वर्षको कार्तिकदेखि अहिलेसम्म नभासिएको बताउनुभयो । पुनः ग्राभेल राखेर भएपनि यातायात सञ्चालन गरिने उहाँले बताउनुभयो । रोगथामका लागि डिभिजनले तिनाउ खोलाको किनारमा करोड बढी खर्चेर ग्याभिएन बाल लगाएको छ । 


प्रतिक्रिया