एक महिनामा झन्डै आठ करोडको तरकारी निकासी 

श्रावण ४, २०७६ | सल्यान

सल्यानको कपुरकोट हाट बजारबाट एक महिनाको अवधिमा सात करोड ५० लाख रुपैयाँ बराबरको तरकारी र फलफूल निकासी भएको छ । किसानहरुले सबै भन्दा बढी कपुरकोट हाट बजारबाट टमाटर निकासी गरेका छन् ।

कृषि उपज केन्द्र कपुरकोटले दिएको जानकारी अनुसार गत जेठ २८ देखि असार २८ सम्म आठ हजार एक सय ३४ क्विन्टल तरकारी बाहिर जिल्लामा निकासी भएको छ ।

एक महिनाको अवधिमा तीन हजार २ सय ६९ क्विन्टल टमाटर निकासी हुँदा पाँच करोड १ लाख सात सय ७६, दुई हजार छ सय ९७ क्विन्टल बन्दागोभी बिक्री गरेर ५४ लाख ३४ हजार, एक हजार चार सय २८ क्विन्टल फूल गोभी बिक्रीबाट एक करोड ६० लाख ४७ हजार,एक सय १२ क्विन्टल सिमी बिक्रि गरेर नौ लाख ६४ हजार, चार सय २५ क्विन्टल झडेखुर्सानी बिक्रि गरेर ३० लाख २९ हजार किसानले आम्दानी गरेका छन । 

यस्तै, ५३ क्विन्टल कांत्रो बिक्री गरेर दुई लाख ५३ हजार, ४९ क्विन्टल हरियो खुर्सानीबाट चार लाख ५१ हजार, ५१ क्विन्टल गाजरबाट ७२ हजार, १३ क्विन्टल मुलाबाट ५९ हजार, २४ क्विन्टल लसुनबाट दुई लाख ४४ हजार, १६ क्न्टिल अदुवाबाट दुई लाख ९१ हजार, चार क्विन्टल नास्पतीबाट ६ हजार किसानले आम्दानी गरेका कृषि उपज केन्द्रका कर्मचारी बिष्णुप्रसाद गौतमले बताउनुभयो । 

कृषि उपज केन्द्रका सचिव रहेका तीलकराज शर्माले हप्तामा मंगलबार र शुक्रबार गरी दुई दिन हाटबजार सञ्चालन हुने र एक सातामै एक करोड बढीको तरकारी निकासी हुँदै आएको बताउनुभयो । कपुरकोट हाट बजारबाट वार्षिक ४० करोड भन्दा बढीको तरकारी निकासी हुने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाकै सबैभन्दा ठूलो कृषि उपज केन्द्र कपुरकोटबाट तरकारीहरु नेपालगन्ज, बुटवल, नारायणघाट, काठमाण्डौं, घोराही, तुलसीपुर जाने गरेको छ । 

किसानले ब्यवसायिक तरकारी खेतीलाई विस्तार गर्दै आएपछि किसानले रिम, गर्पा, सिनबाङ्गका विभिन्न स्थानमा तरकारी संकलन केन्द्र सञ्चालन गरेर तरकारी बिक्री गर्दै आएका र खरिदकर्ताहरु गाडी लगेर किसानका खेतबारीमै पुग्ने गरेका छन् । कपुरकोट गाउँपालिका लगायत आसपासका किसानहरु तरकार खेतीमा लागेपछि उनीहरुको जीवनस्तरमा परिवर्तन आएको उहाँको भनाई छ । 

किसानहरुले ब्यवसायिक तरकारी खेती गर्दै आएपछि कपुरकोट गाउँपालिकाले आधुनिक औजार तथा सामग्रीमा किसानलाई सहयोग गर्नुका साथै बजार ब्यवस्थापनमा सहज गराउँदै आएको गाउँपालिकाका अध्यक्ष भिमबहादुर सेनले बताउनुभयो । मालबाहक गाडीको आन्दोलनले गर्दा शुक्रबार किसानले हाटबजारमा बिक्री गर्न ल्याएका तरकारी त्यत्तिकै थन्किएको थियो । लाखौं रुपैयाँको तरकारी एक दिन बिक्री नभएर कुहिएर जाने भएकाले तरकारी निकासीको लागि विभिन्न निकायसँग समन्वय गरेर बाहिर पठाएको उहाँको भनाई छ ।

कपुरकोट गाउँपालिकाको धनबाङ्ग, रिम, सिनबाङ्ग, गर्पा, त्रिवेणीको लुहाम, सल्लेखोला, टुनीबोट, फलाबाङ्ग र रोल्पाको जिनाबाङ्गका दुई हजार बढी किसानले कपुरकोट हाट बजारमा तरकारी ल्याएर बिक्री गर्दै आएका छन् । दुई दसक अघि देखि ब्यवसायिक तरकारी खेतीमा लागेका किसानहरुको जीवनस्तरमा परिवर्तन आएको छ । 


प्रतिक्रिया