कांग्रेसले सातै प्रदेशमा प्रशिक्षण गर्ने

रेडियो कान्तिपुर संवाददाता

श्रावण ५, २०७६ | काठमाडौं

- नेपाली कांग्रेसले सातै प्रदेशमा पार्टीको महाधिवेशन प्रतिनिधिका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको काठमाडौंमा आज बसेको बैठकले साउन १६ गतेदेखि सातै प्रदेशका १२ स्थानमा दुईदिने प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।

कांग्रेसका उपसभापति एवं प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिको अध्यक्षतामा बसेको प्रतिष्ठानको बैठकले डा. जगदीशचन्द्र पोखरेलको संयोजकत्वमा प्रतिष्ठानको आधार पाठ्यक्रम निर्माण समिति गठन गरेको छ ।

समितिका सदस्यमा डा. आरजु देउवा, हरिहर विरही, राजु नेपाल र प्रशिश महरा चुनिनु भएको छ । बैठकले तारानाथ दाहालको संयोजकत्वमा निर्देशिका निर्माण समिति गठन गरेको छ ।

यसैगरी खिलानाथ दाहालको संयोजकत्वमा गठन गरिएको स्रोत व्यवस्थापन समितिमा सुभाष पोखरेल, डा. प्रभु बुढाथोकी, भद्रा पराजुली भण्डारी, कमला लामिछाने, भगिरथ पोद्दार र योगराज शर्मा कँडेल सदस्य रहेका छन् ।

बैठकले कांग्रेसबाट विजयी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको राष्ट्रिय प्रशिक्षण कार्यक्रम यही महिना भित्रै  काठमाडौंमा गर्ने निर्णयसमेत गरेको छ ।


प्रतिक्रिया