असारमा मात्रै झण्डै १९ अर्ब ६२ करोड रकमान्तर 

रेडियो कान्तिपुर संवाददाता

श्रावण ५, २०७६ | काठमाडौं

- गत असारमा मात्रै अर्थमन्त्रालयले १९ अर्ब ६१ करोड ८१ लाख रुपैयाँ रकमान्तर गरेको छ । विगतका सरकारले झै वर्तमान सरकारले पनि आर्थिक बर्षको अन्त्यमा ठूलो रकम अनुत्पादक क्षेत्रमा रकमान्तर गरेको हो ।  सरकारले बैशाखमा झण्डै १७ अर्ब र जेठमा साढे ३ अर्ब बढी रकमान्तर गरेको थियो ।

अर्थमन्त्रालयले असारमा सबैभन्दा बढी नेपाल विद्युत प्राधिकरणमा शेयर लगानी गर्नका लागि ५ अर्ब रकमान्तर गरेको छ । यस्तै,  अन्तिम पटकका लागि सडक बत्तीको बक्यौता भुक्तानी प्रयोजनका लागि भन्दै विद्युत प्राधिकरणमा शेयर लगानी गर्न ३ अर्ब ३४ करोड १३ लाख ९१ हजार रुपैयाँ रकमान्तर गरिएको छ ।  

नेपाली सेनाले खरिद गरेको जहाजको बाँकी रकम भुक्तानीका लागि जंगी अड्डालाई १ अर्ब ३९ करोड निकासा गरेको छ । मन्त्रिपरिषद्को निर्णय बमोजिम जग्गा खरिदवापत नेपाल खाद्य संस्थानलाई भुक्तानी गर्नका लागि महानगरीय प्रहरीलाई १ अर्ब ३५ करोड दिएको छ । यस्तै, प्रहरी अपराध महाशाखाका लागि जग्गा खरिद गर्न ७२ करोड ६८ लाख रुपैयाँ महानगरीय प्रहरीलाई दिइएको छ ।

संचित बिदा र औषधी उपचारमा नपुगेको रकमका लागि १ अर्ब निकाशा भएको छ । यस्तै, भैपरी आउने साधारण प्रशासन तर्फ विभिन्न स्थानीय तहमा स्वास्थ्यकर्मीको लागि नपुग तलव, स्थानीय भत्ता र पोसाक वापतका लागि ६७ करोड ७६ लाख ५७ हजार रकमान्तर गरिएको छ । 

यस्तै, प्रदेश १ र प्रदेश ५ मा नदी नियन्त्रण तथा सिचाई आयोजनाका लागि ठेक्का, बन्दोबस्ती, सम्झौतालगायतका लागि ५०/५० करोड रुपैयाँ प्रदान गरिएको छ । यस्तै, कर्णाली प्रदेशमा सम्पन्न सिंचाई आयोजनाको भुक्तानीका लागि ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयलाई ५० करोड रुपैयाँ दिइएको अर्थमन्त्तालयले जनाएको छ ।

नेपाल खाद्य संस्थानको सिर्जित दायीत्व भुक्तानीका लागि उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयलाई ४८ करोड २० लाख रुपैयाँ प्रदान गरिएको छ । रेल, मेट्रो रेल तथा मोनो रेल विकास आयोजनाका लागि दुई वटा डेमु सेट ट्रेन खरिदका लागि ३५ करोड निकासा भएको अर्थमन्त्रालयको विवरणमा उल्लेख छ ।

क्षेत्रगत पुल क्षेक्रगत कार्यत्रमका लागि ३७ करोड रुपैयाँ दिइएको छ । सेवा निवृत शिक्षकको संचित विदा र औषधी उपचार वापतको रकम भुक्तानीका लागि पनि ३७ करोड रुपैयाँ निकासा भएको छ ।

बिशिष्ट व्यक्तिको भ्रमण तथा प्रतिनिधिमण्डलको भ्रमण तथा स्वागत खर्च शीर्षकमा २ करोड ८९ लाख ३९ हजार रुपैयाँ रकमान्तर भएको छ । 

 


प्रतिक्रिया