नेकपाले जिल्ला इन्चार्ज र सहइन्चार्ज टुङ्गो लगायो 

श्रावण ५, २०७६ | काठमाडौं

- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले जिल्ला इन्चार्ज र सहइन्चार्जको टुङ्गो लगाएको छ । लामो समयपछि आज बसेको सचिवालय बैठकले पार्टी एकीकरणको सम्पूर्ण प्रक्रिया टुंगो लगाउने नेताहरुले बताएपनि कार्यविभाजनसहितको काम भने टुंगो लगाउन सकेन । 

काठमाडौंको बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज बसेको नेकपाको सचिवालय बैठकले ७७ वटै जिल्ला र ६ वटा महानगरपालिकाको इन्चार्ज र सहइन्चार्ज टुङ्ग्याएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । १८ जिल्ला र महानगरमा भने सहइन्चार्ज बनाईएको छैन । 

नेकपाले तत्कालीन एमाले र माओवादी केन्द्रका जिल्ला इन्चार्जलाई नै निरन्तारता दिदै जिम्मेवारी तोकेको हो । कतिपय जिल्लामा १० जनासम्म सहइन्चार्ज तोकिएका छन् । सिराहामा १० तथा काठमाडौं, धनुषा र दाङमा ९–९ जनालाई सहइन्चार्जको जिम्मेवारी दिईएको छ । काठमाडौंको इन्चार्जमा सावित्रा भुषाल, ललितपुरमा हरि दाहाल र भक्तपुरमा दीलिप कुमार प्रजापति तोकिएका छन् ।

 यस्तै महानगरतर्फ काठमाडौंमा जीवनराम श्रेष्ठ, पोखरामा मानबहादुर जिसी, भरतपुरमा रेणु दाहाल, वीरगञ्जमा दीनेश राई, विराटनगरमा शिवकुमार मण्डल र ललितपुरमा शुसिला नेपाललाई इन्चार्ज बनाईएको छ । ताप्लेजुङ, ईलाम, धनकुटा, ओखलढुंगा, सप्तरी, काभ्रे, नुवाकोट, मनाङ, पर्वत, म्याग्दी, मुस्ताङ, नवलपरासी पश्चिम, गुल्मी, प्युठान, कालिकोट, हुम्ला, डोल्पा र दार्चुला तथा सवै महानगरमा सहइन्चार्ज बनाईएको छैन । 

३२ वटा विभाग, आयोग, अन्य केन्द्रीय निकाय र प्रवास संगठनको एकिकरणको काम भने पर्सी मंगलबार दिउँसो १ बजे बस्ने बैठकबाट टुङ्याउने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । यसअघि गत मंगलबार बसेको अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको बैठकले एकीकरणका बाँकी काममा प्रारम्भिक सहमति जुटाएको थियो । एकीकरणको काम सचिवालयले सकेपछि सो निर्णय स्थायी समिति र केन्द्रीय समितिमा पेस हुनेछ ।

गत वर्षको जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण घोषणा हुँदा ३ महिनाको भाका राखेका नेकपा नेताहरुले बारम्बार समय सार्दै आएका थिए । पार्टी एकता भएको १४ महिना वितिसक्दा पनि एकताको सम्पुर्ण काम सक्न अझै बाँकी छ । 

 


प्रतिक्रिया