विवाद मिलाउँदै दुई अध्यक्ष

रेडियो कान्तिपुर संवाददाता

श्रावण ६, २०७६ | काठमाडौं

– पार्टीको विभाग गठनमा देखिएको विवाद मिलाउन सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका २ अध्यक्ष आन्तरिक गृहकार्यमा जुटेका छन् । अन्य विभागको नेतृत्व टुंगो लागेपनि स्कुल विभागको नेतृत्वमा देखिएको विवाद समाधानका लागि प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले गृहकार्य सुरु गरेका हुन् । स्कुल विभागमा सचिवालय सदस्यहरु ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठले दावी गरेपछि हिजो त्यसको घोषणा हुन सकेको थिएन । 

पोखरेललाई स्कुल विभागमा ल्याएर श्रेष्ठलाई प्रचार विभागको जिम्मेवारी दिने तयारी भएपनि पूर्वमाओवादी पक्षले असहमती जनाएपछि विवाद बढेको छ  । भोली बस्ने सचिवालय बैठकअघि सहमतीको प्रयासमा ओली र दाहाल आन्तरिक छलफलमा जुटेका हुन् । महत्वपूर्ण विभागको नेतृत्वमा तत्कालिन एमाले हावी भएपछि तत्कालिन माओवादी पक्षले वैचारिक विभागको नेतृत्व कुनै हालतमा छोड्न नहुने भन्दै अध्यक्ष दाहाललाई दबाव दिएका छन् ।

दुई अध्यक्षबीच सहमती नभए अन्य शीर्ष नेताहरुलाई पनि बोलाएर ओलीले त्यसको टुंगो लगाउने तयारी गर्नुभएको नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो ।  


प्रतिक्रिया