साउनको आज पहिलो सोमबार

रेडियो कान्तिपुर संवाददाता

श्रावण ६, २०७६ | काठमाडौं

– साउनको पहिलो सोमबार आज मुलुकभरका शिवालयमा भक्तजनको घुईंचो लागेको छ । शिवालयमा आज भगवान शिवलाई मनपर्ने बेलपत्र, जल, पञ्चामृत चढाई पूजाअर्चना गर्ने गरिन्छ । आराध्यदेव पशुपतिनाथ, महोत्तरीको जलेश्वर, दोलखाको भीमेश्वर, पर्साको पारसनाथ, पनौतीको भालेश्वर, डडेल्धुराको भाग्येश्वर, सप्तरीको भजनेश्वर, कैलालीको बेडाबाबा र रुपन्देहीको मनौरी महादेवलगायतका शिवालयमा साउन महिनाभर नै महादेवको विशेष उपासना गर्न श्रद्धालुुहरूकोे भीड लाग्ने गर्दछ ।

साउनभर ब्रतालु, भक्तजनको चाप बढ्ने भएकाले साउनभरको सोमबारका लागि विशेष तयारी गरेको पशुपति विकास कोषले जनाएको छ । पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीका अनुसार सोमबार बिहान साढे ३ मा नै दर्शनार्थीका लागि मन्दिरको ढोका खुला गरिने भएको छ । साउनमा बोलबम तीर्थयात्री पनि आउने भएकाले विशेष तयारी गरिएको कोषले जनाएको छ ।

साउनको सोमबार व्रत बसी भगवान शिवको उपासना गरेमा पारिवारिक कल्याण, सुख शान्ति एवं मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।


प्रतिक्रिया