एक साता देखि ठप्प ढुवानी सेवा सुरु

श्रावण ७, २०७६ | काठमाडौं

सरकार र व्यवसायीबीचको सहमति भएपछि एक साता देखि ठप्प भएको ढुवानी सेवा सुरु भएको छ । मालवस्तु ढुवानीमा देखिएका समस्या समाधान तथा व्यवसायीलाई सवारी साधन सञ्चालनका लागि रुट परमिट दिने लगायत विषयमा सहमति भएपछि ढुवानी सेवा सुरु भएको हो ।

यसअघि, वेबमा आधारित ढुवानी प्रणाली लागू गर्न नसक्ने भन्दै अन्दोलित बनेका व्यवसायीहरूले साउन १ गतेबाट ढुवानी कार्य ठप्प पारेका थिए । वेबमा आधारित मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली भीसीटीएसको बारेमा सहमति पछि ट्रक व्यवसायीहरु ढुवानी सेवा सुरु गर्न सहमत भएको राजश्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले बताउनुभयो ।  यो प्रणालीलाई लिएर देखिएको असहजता अहिले अन्त्य भईसकेको भन्दै अब निर्वाध रुपमा सेवा सुरु हुने उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘उहाँहरुको असन्तुष्टि सबै हामीले साम्य पारिसक्यौँ । ढुवानी कर्तालाई भीसीटीएस प्रणालीको बारेमा सबै जानकारी गराईसक्यौं र उहाँहरु यसबाट आश्वस्त हुनु भएको छ । व्यवसायीहरुले निर्वाध रुपमा ढुवानी सेवा सुरु गर्ने प्रतिवद्धता समेत जनाउनु भएको छ । केही व्यवसायीको असन्तुष्टि रहेपनि अहिले ती व्यवसायीहरु पनि यो प्रणाली लागू गर्न सहमत हुनु भएको अवस्था छ ।’

सरकारले जेठ १५ गतेदेखि सबै ढुवानी व्यवसायीलाई भ्याटमा दर्ता हुन र साउन १ देखि वेबमा आधारित भीसीटीएस प्रणाली सुरु गर्ने निर्णय गरेको थियो । सबै ढुवानी व्यवसायीहरु यो प्रणाली लागू गर्न सहमत भएसँगै अहिले धमाधम प्रयोगकर्ताको इमेल आईडी बनाउने काम भईरहेको भन्दै झण्डै २० हजार जना प्रयोगकर्ताको इमेल आईडी बनिसकेको  विभागका महानिर्देशक मैनालीले बताउनुभयो ।

भीसीटीएस प्रणालीमा देखिएको व्यावहारिक कठिनाइ सामाधन गर्न यस गत आइतबार अर्थमन्त्री युवराज खतिवडा र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा समिति समेत गठन भएको थियो । समितिमा अर्थ मन्त्रालयका २, महासंघका तर्फबाट ३ र एकजना स्वतन्त्र विज्ञ रहेका छन् । पहिलो चरणमा व्यवसायीलाई यो प्रणाली बारे जानकारी गराउन ३ महिने कार्ययोजना बनाएर विभागले काम गरिरहेको उहाँले बताउनुभयो । 

सो समितिलाई आगामी शुक्रवार सम्मको कार्यअवधि दिई आर्थिक ऐनको व्यवस्थाबाट हाल उत्पन्न समस्याका विषयमा अध्ययन गरी सुझाव पेश गर्ने जिम्मेवारी दिएको छ । आर्थिक ऐनमा रहेको केही प्रावधानले उद्योग व्यवसाय गर्न अत्यन्त कठिनाई उत्पन्न हुने भएकाले मुलुकभित्र उद्योग व्यवसायको वातावरण बनाउनका लागि मालसामानको विवरण वेभमा आधारित वेव बेस भेइकल कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम, स्थायी लेखा नम्वरको विषय, ढुवानीमा भ्याटको विषय लगायतलाई सरकारले तत्काल सम्बोधनका लागि महासंघले सरकार समक्ष आग्रह समेत गरेको छ । 

यो नियम लागू भएपछि ढुवानी व्यवसायीहरूले जहाँबाट मालसामान लोड गरेको हो त्यहीँबाट चालकको तीनपुस्ते, सामानको विवरण, गाडी नम्बर, लोड गरेको स्थान, अनलोड गर्ने स्थान लगायत विवरण राखेर लक गर्नुपर्नेछ । त्यसका लागि आन्तरिक राजस्व विभागले कोड नम्बर उपलब्ध गराएको हुन्छ । लोड गरेको सामान सम्बन्धित व्यक्तिबाट संस्थाले बुझें भनेर लक खोलिदिनुपर्ने हुन्छ । यसो गर्दा देशभर नै कुन मालबाहक गाडीले के–के सामान कहाँबाट कहाँसम्म लगिरहेका छन् भन्ने कुरा विभागले अनुगमन गर्नेछ । ढुवानीकर्ताले भ्याट बिल समेत काट्नुपर्ने नियम छ । 


प्रतिक्रिया