पहिरोले सडक बगाएपछि हेलिकप्टरबाट खाद्यान्न ढुवानी

श्रावण ९, २०७६ |  मोरङ

प्रदेश १ सरकारले उदयपुरको लिम्चुङबुङ र ताप्ली गाउँपालिकामा हेलिकप्टरबाट खाद्यान्न ढुवानी गरेको छ । प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिको बुधबार बसेको बैठकले गरेको निर्णय अनुसार दुबै गाउँपालिकाका लागि आवश्यक खाद्यन्न पठाएको हो ।

दुई गाउँपालिकालाई गरी चामल ८ हजार १० किलो, रहरको दाल १ हजार ९ सय ९५ किलो, नुन ५ सय किलो र खाने तेल ५ सय लिटर पठाएको हो । नेपाली सेनाको हेलिकप्टरमा विराटनगर विमानस्थलबाट प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले खाद्यान्न पठाउनु भएको हो ।

हेलिकप्टरमा एक पटकमा २ हजार १० किलो चामल, १ सय ८० किलो रहरको दाल, १ सय २० किलो नुन र १ सय २० लिटर खाने तेल दुई स्थानमा २/२ दुई पटक गरी ढुवानी गर्ने मन्त्री कार्कीले बताउनुभयो । लिम्चुङबुङ र ताप्लीमा खाद्यान्न संकट भएपछि प्रदेश विपद व्यवस्थापन समितिले हेलिकोप्टरबाट खाद्यान्न ढुवानी गरी स्थानीयलाई राहात वितरण गरेको हो । 

लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईका अनुसार पहिरोका कारण गाउँपालिका जाने गाईघाट–लिम्चुङबुङ–हलेसी, कटारी–बेतेनी–इनामे–लिम्चुङबुङ र गाईघाट–फाक्सिङटार–लिम्चुङबुङ गरी ३ वटै सडक क्षतिग्रस्त भएकाले खाद्यान्न संकट भएको छ । असार ३१ गते गाउँपालिकाले संकटग्रस्त घोषणा गरी खाद्यान्न आपुर्तिका लागि संघीय र प्रदेश सरकारलाई आग्रह गरेको उनले बताए । वर्षापछि आएको पहिरोका कारण दुई गाउँपालिकामा गरी ३ सय घर पूर्ण क्षति र ४ सय घर प्रभावित हुँदा ६ हजार बढी परिवार समस्यामा परेका छन् । 

मन्त्री कार्कीले प्रदेशस्थित लिम्चुङबुङ र ताप्ली गाउँपालिकामा खाद्यान्न संकट उत्पन्न भएकोले संघीय सरकारको गृह मन्त्रालयले एक पटकका लागि खाद्यान्न आपूर्तिका लागि हेलिकप्टर उपलब्ध गराएको बताउनुभयो ।

हेलिकप्टर उपलब्ध हुने भएपछि विपद व्यवस्थापनको बैठकले सात दिनका लागि खाद्यान्न राहत स्वरुप पठाएको उहाँले जानकारी दिनुभयो । क्षतिग्रस्त सडकहरुको मर्मत र ट्रयाक खोल्नका लागि प्राविधिकहरुलाई निर्देशन दिइसकेकोले एक साताभित्र सडक सञ्चालन गर्ने गरी काम थालेको उहाँले बताउनुभयो ।


प्रतिक्रिया