प्रतिकूल मौसमका कारण हेलिकप्टरबाट खाद्यन्न ढुवानी हुन सकेन

श्रावण ९, २०७६ | मोरङ

प्रतिकूल मौसमका कारण हेलिकप्टर उड्न नसकेपछि उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा आज खाद्यन्न ढुवानी हुन सकेन । लिम्चुङबुङ गाउँपालिकामा खाद्यन्न ढुवानीका लागि तयारी अवस्थामा रहेको हेलिकप्टर प्रतिकूल मौसमका कारण उडान उड्न नसकेको हो ।

पहिरोले सडक अवरुद्ध हुँदा खाद्यान्न अभाव भएको लिम्चुङबुङ गाउँपालिकामा आज पनि प्रदेश १ सरकारले हेलिकप्टरबाट खाद्यान्न पठाउन सकेन । काठमाडौंबाट आएको नेपाली सेनाको हेलिकप्टर बिहीबार विराटनगर मै बसेर शुक्रबार बिहान खाद्यान्न पठाउन प्रयास गर्ने प्रदेश १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

उदयपुरको लिम्चुङबुङ र ताप्लीमा खाद्यान्न संकट भएपछि प्रदेश विपद व्यवस्थापन समितिले हेलिकोप्टरबाट खाद्यान्न ढुवानी गरी स्थानीयलाई राहात वितरण गर्न लागेको हो । प्रदेश विपद व्यवस्थापन समितिको निर्णय अनुसार प्रदेश सरकारले लिम्चुङबुङका लागि ४ हजार १ सय १० किलो चामल, १ हजार ४ सय २५ किलो दाल, २ सय ५० किलो नुन र २ सय ५० लिटर खाने तल राहत बितरणका लागि पठाउन विराटनगर विमानस्थलमा तयारी अबस्थामा राखेको छ । 

लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईका अनुसार पहिरोका कारण गाउँपालिका जाने गाईघाट–लिम्चुङबुङ–हलेसी, कटारी–बेतेनी–इनामे–लिम्चुङबुङ र गाईघाट–फाक्सिङटार–लिम्चुङबुङ गरी ३ वटै सडक लगातारको बर्षाले पहिरो गई क्षतिग्रस्त भएकाले खाद्यान्न संकट भएको छ । उहाँले असार ३१ गते गाउँपालिकाले संकटग्रस्त घोषणा गरी खाद्यान्न आपूर्तिका लागि संघीय र प्रदेश सरकारलाई आग्रह गरेको बताउनुभयो । 

प्रदेश १ सरकारले पहिरोले सडक अवरुद्ध भएर खाद्यान्न अभाव भएको उदयपुरको ताप्ली गाउँपालिकामा भने हेलिकप्टरबाट बिहीबार खाद्यान्न पठाएको छ । नेपाली सेनाको हेलिकप्टरले विराटनगर विमानस्थलबाट दुई पटकमा ३ हजार ९ सय किलो चामल, ५ सय ७० किलो दाल, २ सय ५० किलो नुन र २ सय ५० लिटर खाने तेल ताप्ली गाउँपालिकाको रुपाटारमा पुर्‍याएको छ । 

ताप्ली गाउँपालिका अध्यक्ष उद्धबसिंह थापाका अनुसार गाउँपालिकास्थित २७ सय घरधुरीको १४ हजार ५ सय जनसंख्या मध्ये ८० प्रतिशतलाई खाद्यान्न अभाव भएको छ । गाउँपालिकास्थित एक्जाभेटरले खनेको सडक छेउका ३२ परिवार पहिरोको जोखिममा रहेको छ ।

यसअघिको खडेरीले उब्जनी नहुनु र लगातारको वर्षाले पहिरो गएर सडक अबरुद्ध हुँदा खाद्यान्न अभाव भएको उहाँले बताउनुभयो । ताप्ली गाउँपालिका जोड्ने कटारी–बेतनी–नुनथला–रुपाटार र बेतनी–सुरुङ–रुपाटार गरी दुई वटै सडक पहिरोले अवरुद्ध भएकोले खाद्यान्न अभाव भएको उहाँको भनाई थियो । 

( यो पनि पढ्नु होस् ) :

पहिरोले सडक बगाएपछि हेलिकप्टरबाट खाद्यान्न ढुवानी 

http://bit.ly/2OycEsP


प्रतिक्रिया