मासुको भाउ अस्वभाविक रुपमा बढ्यो, उपभोक्ता मारमा

श्रावण १०, २०७६ | काठमाडौं

पछिल्लो एक महिनामा मासुको मूल्य अस्वभाविक रुपमा वृद्धि भएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन गर्ने भएको छ । उपभोक्ताले मासुको मूल्य अस्वभाविक बढेको गुनासो गरेपछि विभागले अनुगमन गर्ने भएको हो ।

मासुमा अस्वभाविक रुपमा मुल्यवृद्धि भएपछि आगामी आइतबारबाट बजार अनुगमन गर्न लागिएको विभागका महानिर्देशक योगेन्द्र गौचनले बताउनुभयो । मासु व्यवसायीहरुले स्वभाविक रुपमा मूल्य बढाएको हो वा यसमा बिचौलीयाको हात भएको बारे विभागले अनुगमन गर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यसमा स्वभाविक मूल्य बढेको हो कि, व्यवसायी अथवा बिचौलीयाले खेलेको भनेर हामी अनुगमन गछौं । कैफियत भेटिएमा हामी तत्काल कारबाही गछौं ।’ 

उपभोक्ताले मासुको मूल्य अस्वभाविक बढेको गुनासो गरेपछि विभागले आज मासु व्यवसायीलाई बोलाएर छलफल गरेको थियो । छलफलमा व्यवसायीहरुले बर्ड फ्लू लगायत कारण देखाउँदै मासुको मूल्य बढाएको बताएपनि चित्तबुझ्दो कारण नदेखाएको विभागका महानिर्देशक गौचनको भनाई छ ।

बजारमा माग अनुसारको आपूर्ति नहुँदा व्यवसायी र बिचौलीयाले कालोबजार गर्ने गरेको भन्दै उहाँले विगतमा पनि यस्ता घटना हुने गरेको बताउनुभयो । पर्सिबाट बजार अनुगमन गर्ने र मासुमा अस्वभाविक मूल्य वृद्धि बारे थप अनुगमन गरिने उहाँले बताउनुभयो । आफूहरु अनुगमन आउने बारे व्यवसायीहरुलाई जानकारी समेत गरएको भन्दै उहाँले अन्य व्यापारीहरुलाई पनि यसबारे सुशुचित गराउन भनेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘जब बजारमा माग अनुसारको आपूर्ति हुँदैन यही मौकामा बिचौलीया र व्यवसायीहरुले खेलिरहेको हुन्छन् यहीबेला पैसा कमाउने भनेर । कुखुरा र खसीबोकाको आन्तरिक उत्पादन नभएको तथा विदेशबाट समेत आयात नभएको व्यवसायीहरुले भनेपनि हामीले चै तत्काल अनुगमन थाल्ने तयारी गरेका छौं ।’

पोल्ट्री तथा मासु व्यवसायीले बर्ड फ्लूको हल्ला र दानामा भन्सार वृद्धि भएको बहानामा मूल्य बढाएका हुन् । नेपाल माछामासु व्यवसायी संघ, पोल्ट्री व्यवसायी मञ्च, भ्याली कोल्ड स्टोरका अनुसार मूल्य १० देखि १५ प्रतिशतले मूल्य बढेको छ ।

बर्ड फ्लूका कारण कुखुरा उत्पादन लागत नउठेपछि किसानले चल्ला हालेका छैनन् । जसका कारण आन्तरिक उत्पादनमा कमी आएकाले कुखुराको मूल्य १० देखि १५ प्रतिशतले बढेको व्यवसायी बताउँछन् । सरकारले क्वारेन्टाइनमा कडाइ गरेपछि खसीबोकाको आयातमा पनि कमी आएको छ । यसले पनि मासुको मूल्यवृद्धि गर्न बाध्य भएको व्यवसायीको भनाई छ । 


प्रतिक्रिया