पहिरोका कारण खासामै रोकिए ६ कन्टेनर

श्रावण ११, २०७६ | तातोपानी (सिन्धुपाल्चोक)

 चीनको न्यालम खण्डमा पहिरो जाँदा सडक अवरुद्ध भएपछि नेपालबाट गएका ६ वटा मालबाहक कन्टेनर खासामै रोकिएका छन् । भोटेकोसीको बाढी, पहिरोले क्षतिग्रस्त बनाएको मितेरी पुलदेखि न्यालम सम्मको ४० किलोमिटर सडकखण्ड कालोपत्रे गरी चीनले पुनः संञ्चालनमा ल्याएको थियो । 

वर्षा सुरु भएसँगै चीनको न्यालम क्षेत्रमा पहिरो गएपछि सामग्री ढुवानीमा समस्या भएको चिनियाँ प्रहरी अधिकारीले बताएका छन् । भोटेकोसी गाउँपालिकाका प्रमुख राजकुमार पौडेलले पहिरो पन्छ्याएर सडक खुलाउने प्रयास भइरहेको बताउनुभयो । 

‘यताबाट गएका सवारी पहिरोको कारण खासमै रोकिएपछि हालसम्म मालवाहक सवारी आउजाउ भएको छैन्, चीनतर्फ पहिरो खोल्ने प्रयास जारी भइरहेको सूचना आएको छ,’ भोटेकोसी गाउँपालिकाका प्रमुख राजकुमार पौडेलले भने  । 

चिनियाँ सुरक्षाकर्मीका अनुसार पहिरो ठूलो भएकाले खोल्नको लागि अत्यधुनिक एक्जाभेटर र उपकरण प्रयोग भईरहेको छ । नाका खुलाउँदा नेपालबाट झण्डै एकसय ८२ प्रकारको सामग्री जसमा मुडा, खाद्यन्न, गलैँचा, हस्तकला लगायतका सामग्री चीनको ल्हासा पुग्ने सहमति गरिएको थियो । 

व्यापारिक मालबाहक सवारी आउजाउ नियमित गर्नको लागि चीन र नेपालतर्फका प्रहरी टिमले पूर्वाधार, सुरक्षा सर्तकता योजना बनाएका छन् । 

यसको लागि चाइना रेलवे कन्ट्रक्सन ब्युरो (सिआरसीसी) समन्वय गरेर पहिरो, अवरोध हटाउन एक्जाभेटर तयार राखेको सीमास्थित सशस्त्र प्रहरी बलका डीएसपी कृष्णगोपाल गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, ‘व्यापारिक सामाग्री आउजाउ गराउन सुरक्ष सर्तकता र सडक दुरुस्त राख्न विभिन्न टिमसहित काम गरिरहेका छौं ।’


प्रतिक्रिया