होमस्टे गाउँमा पर्यटकीय पदमार्ग निर्माण

श्रावण १३, २०७६ | लमजुङ

लमजुङको बेंसीसहर नगरपालिका ६ पुमा गाउँमा पर्यटकीय पदमार्ग निर्माण गरिएको छ । सडकबाट गाउँसम्म पुग्ने बाटोमा सिँढी लगाइएको छ । बेंसीसहर बजारबाटै देखिने पुमा गाउँमा निर्माण गरिएको पर्यटकीय पदमार्गले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा स्थानीयले गरेका छन् ।

बेंसीसहर–घलेगाउँ–भुजुङ सडकमा पर्ने पुमा गाउँमा सडकदेखि गाउँसम्म जोड्ने पदमार्ग निर्माण गरिएको पुमागाउँ होमस्टे व्यवस्थापन समितिका अध्यक्ष दुर्गाबहादुर गुरुङले बताउनुभयो । उहाँका अनुसार यसअघिको ढुंगा उक्किएकाले नयाँ पदमार्गमा पर्यटकलाई हिँड्न सहज भएको छ । बाटो वरपर सामान्य खालको रेलिङ समेत राखिएकाले हिँड्न सहज भएको उहाँले बताउनुभयो ।  

गण्डकी प्रदेश सरकारले होमस्टे अनुदान बापत दिएको १० लाख रुपैयाँबाट स्थानीयले पदमार्ग निर्माण गरेका हुन् । यसमा बेंसीसहर नगरपालिकाको १ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ । स्थानीयले ३ लाख रुपैयाँ बराबरको श्रमदान गरेको उहाँले बताउनुभयो ।

गुरुङका अनुसार करीब ५ सय मिटर उकालो बाटो रेलिङ सहित पैदलमार्ग निर्माण गर्ने योजना छ । अहिले २ सय ५० मिटर निर्माण गरिसकिएको उहाँले बताउनुभयो । होमस्टे व्यवस्थापन समितिका अध्यक्ष दुर्गाबहादुर गुरुङले भन्नुभयो, ‘यसअघि पनि सिँढी नभएका होइन । सबै उक्किएको थियो । हिँड्ने पर्यटक र स्थानीय लड्थे । अब त्यो समस्या छैन ।’ 

बेंसीसहर नगरपालिका ६ का वडा सदस्य स्थानीय बीरेन्द्र गुरुङका अनुसार गाउँमा पोखरी डाँडादेखि कन्यादेवी मन्दिरसम्म पर्यटकीय पदमार्ग निर्माण गरिएको हो । सबै पदमार्ग र केही पूर्वाधार निर्माण गर्न ५० लाख लाग्ने अनुमान गरिएको छ । अहिले गाउँसम्म निर्माण गरिएको छ ।

पदमार्ग निर्माणमा रकम अभाव हुने भएकाले प्रदेश र स्थानीय तहसँग माग गरिएको उहाँले बताउनुभयो ।  होमस्टे व्यवस्थापन समितिका अध्यक्ष दुर्गाबहादुर गुरुङले भन्नुभयो, ‘यसअघिको बजेटले करीब आधा पदमार्ग निर्माण गरेका छौं । यसवर्ष पदमार्ग पूरा गरेर अन्य भौतिक संरचना निर्माण समेत गर्ने हाम्रो योजना छ ।’ 

धार्मिक तथा ऐतिहासिक महत्व रहेको कन्यादेवी मन्दिरमा छिमेकी गाउँबाट समेत पूजापाठ गर्न आउने भक्तजन भएकाले उनीहरुका लागि समेत पदमार्ग सहज हुने वडा सदस्य गुरुङले बताउनुभयो । मन्दिरमा पूजापाठ गर्नाले मनोकामना पूरा हुने विश्वास छ । उहाँले भन्नुभयो, ‘यहाँ पञ्चवली दिएमा मनोकामना पूरा हुने, सन्तान प्राप्ती हुने विश्वास छ ।’ 

पुमा गाउँमा महिलाले होमस्टे (घरबास) सुरु गरेका छन् । बढ्दो बसाइँसराई र युवा विदेशिए पछि महिलाले होमस्टे थालेका छन् । कन्यादेवी आमा समूहमा आवद्ध महिलाले सुरुमा ५ घरमा पूर्वाधार तयार पारेर होमस्टे संचालनमा ल्याएको होमस्टे संचालक समेत रहेका आमा समूहकी अध्यक्ष सुकमाया गुरुङले बताउनुभयो ।

उहाँका अनुसार उपाध्यक्ष धनकाशी गुरुङ, कोषाध्यक्ष मीनकाशी गुरुङ, सदस्य बीना गुरुङ र पूजना गुरुङले होमस्टे थालेका हुन् । सरकारी सहयोगबिनै उनीहरुले होमस्टे संचालन थालेका थिए । आमा समूहसँग ४०/४० हजार रुपैयाँ ऋण लिएर उनीहरुले हामेस्टे थालेका थिए । भौतिक पूर्वाधारमा जनही डेढलाख रुपैयाँ खर्च गरेका उनीहरुले बाँकी रकम आफैं जुटाएको बताएका छन् । 

कोदोको ढिँडो, रोटी, लोकल कुखुराको मासु, स्थानीय मदिरा, रातो भट्ट, मकै, फर्सी, बन्दा, काउली, ब्रोकाउली, आलु लगायत गाउँमै फलाएका छन् । मौसममा कुरिलो, निउरो, सिस्नो लगायत परिकार दिइने गरिएको धनकाशीले बताउनुभयो । गाउँमा आउने पाहुनालाई घाँटु, कृष्णचरित्र, झ्याउरे, आमा समूहको नाच देखाइन्छ । लमजुङ हिमाल, अन्नपूर्ण, मनास्लु, हिमालचुली, डा. हर्क हिमाल, बुद्ध हिमाललगायत देख्न सकिने उक्त गाउँको ओछ्यानबाटै विभिन्न बन्यजन्तु तथा पन्छीको आवाज सुन्न सकिन्छ । 

समुद्री सतहबाट १ हजार ५ सय ५० देखि १ हजार ६ सय मिटर उचाईसम्ममा रहेको पुमा गाउँमा पहिले ५२ घर थियो । अहिले गुरुङका ३४ घर र बिक (दलित) का १४ घर छन् । बसाइँसराई भइरहेपनि स्थानीयले आफ्नो चालचलन, रीतिरिवाज, परम्परा नछोडेको स्थानीय इन्द्रबहादुर गुरुङले बताए । बेंसीसहरबाट बिम्दाबेंसी हुँदै ११ किलोमिटरको दुरीमा पर्ने पुमा गाउँ १ घण्टामा पुगिने वडाअध्यक्ष भोजबहादुर रिमालले बताउनुभयो । उहाँका अनुसार बेंसीसहरदेखि चण्डिस्थान हुँदै ८ किलोमिटरको दूरीमा रहेको पुमागाउँ पुग्न ४५ मिनेट लाग्छ । 


प्रतिक्रिया