तरकारी तथा फलफूलमा विषादीको सीमा तोक्ने सरकारको तयारी

श्रावण १४, २०७६ | काठमाडौं

सरकारले आयातीत तरकारी तथा फलफूलमा जीवनाशक विषादीको अवशेषको अधिकतम सीमा तोक्न भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आयातीत तरकारी तथा फलफूलमा जीवनाशक विषादीको अधिकतम प्रयोग गर्न नपाइने गरी सीमा तोक्ने तयारी थालेको हो ।

स्याउ, केरा, करेला, भन्टा, बन्दा कोभी, भिन्डी, आलु, गोलभेंडा र चिया गरी १० वटा तरकारी तथा फलफूलमा खाद्य स्तर निर्धारण समितिबाट जीवनाशक विषादी अवशेषको अधिकतम सीमा तोक्ने तयारी अन्तिम चरणमा रहेको विभागले जनाएको छ । विभाग तथा सो मातहतका खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा आधुनिक उपकरण सहित जीवनाशक विषादीको परीक्षण क्षमता वृद्धि गर्ने गरी स्तरोन्नतिको काम भईरहेको विभागका प्रवक्ता मोहन कृष्ण श्रेष्ठले बताउनुभयो ।

प्रवक्ता मोहनकृष्ण महर्जनले भन्नुभयो, ‘तरकारी तथा फलफूलमा खाद्यस्तर निर्धारण समितिबाट जीवनाशक बिषादी अवशेषको अधिकतम सीमा तोकी डब्लुटीओ नोटिफिकेशन पश्चात् नेपाल राजपत्रमा प्रकाशनको प्रक्रियामा छ, ‘राजपत्रमा प्रकाशन भए पश्चात् कार्यान्वयमा जान्छौं ।’

तत्कालका लागि भन्सार कार्यालयबाट प्राप्त तरकारी तथा फलफूलका नमूनाहरुमा विषादी परीक्षणको गर्न सकिने तथा तोकिएको मापदण्ड भन्दा बढी मात्रामा विषादी भेटिएमा विस्तृत परीक्षणको लागि विभागको राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशाला पठाउने काम भईरहेको उहाँले बताउनुभयो । विभाग अन्तर्गतका, भैरहवा, वीरगञ्ज, नेपालगञ्ज तथा धनगढीस्थित कार्यालयमा समेत तरकारी तथा फलफूलमा विषादी परीक्षण हुने गरेको उहाँले बताउनुभयो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गत आर्थिक वर्षमा १ सय ४८ वटा उद्योग विरुद्ध मुद्दा दायर गरेको छ । खाद्य र दाना उद्योग, होटल रेष्टुरेण्ट, राजमार्ग नजिक सञ्चालित होटल गरी ३ हजार ५ सय २६ वटामा निरीक्षण अनुगमन पछि १ सय ४८ वटाविरुद्ध मुद्दा चलाइएको विभागले जनाएको छ ।

गत आर्थिक वर्ष २०७५/७६ को कार्य प्रगति सार्वजनिक गर्दै विभागले  प्राप्त विभिन्न विषयमा ११ वटा उजुरी उपर कारबाही गरिएको जनाएको छ । खाद्य र दाना ऐन तथा नियम अनुसार न्यूनस्तर तथा दूषित उत्पादन तथा बिक्री वितरण गरेको कसूरमा १ सय ४८ वटा मुद्दा विभिन्न जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा दायर गरिएको थियो । तीमध्ये सबैभन्दा बढी प्रशोधित पिउने पानीका ३९, खाद्य तेलका २९, दानाका ६ तथा अन्य विभिन्न खाद्य पदार्थका रहेको विभागले जनाएको छ । 

सो मध्ये ४२ वटा मुद्दा दुषितका, ८३ मुद्दा न्यून गुणस्तरका तथा बाँकी लेवल लगायतका विवरण नमिलेका र निर्देशिका उल्लंघन गरेका विषयका थिए । सो अवधिमा ५ सय ९२ उद्योगलाई नयाँ अनुज्ञापत्र जारी, १ हजार ५ सय ८४ उद्योग अनुज्ञापत्र नवीकरण तथा १ हजार ५ सय ५ नयाँ उद्योग स्थापना गर्न सिफारिश गरिएको विभागले जनाएको छ । 

यसैबीच, पछिल्लो समय आयातीत खाद्य वस्तुको प्रयोग दिन–प्रतिदिन बढ्दो छ । नेपालीहरुको बदलिंदो जीवनशैली सँगै आयातीत खाद्य वस्तुको प्रयोगमा पनि वृद्धि हुँदै गईरहेको छ । तर, आयातीत ती खाद्य वस्तुको गुणस्तर परीक्षण गर्ने निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भने प्रभावकारी रुपमा काम गर्न सकेको छैन । आधुनिक प्रविधि र आवश्यक जनशक्ति अभावका कारण कारण खाद्य वस्तुको गुणस्तर परीक्षणको काम प्रभावकारी रुपमा हुन नसकेको विभागले जनाएको छ ।

विभागको प्रगति विवरण सार्वजनिक कार्यक्रममा विभागकी महानिर्देशक मतिना जोशी वैद्यले सांगठनिक संरचना अझै पनि पूरा नभएका कारण खाद्य वस्तुको गुणस्तर परीक्षण प्रभावकारी रुपमा हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘लोक सेवा आयोगको विज्ञापन रोकिएका कारण कर्मचारी भर्ना गर्न सकिएको छैन । सम्भवत विभागका लागि छनोटका गरिएका कर्मचारी पनि यसै वर्ष दरबन्दी पूर्ति हुनेछ ।’

विभागको सांगठनिक संरचना अझै पूरा नभएको भन्दै उहाँले यसैका कारण कार्य सम्पादनमा समस्या हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो सांगठनिक संरचना अझै पनि पूरा हुन सकेको छैन । प्रभावकारी रुपमा काम गर्न सक्ने अवस्था अझै पनि छैन । प्रभावकारी रुपमा काम गर्न थप जनशक्ति र यसको संरचना विस्तारका लागि विभागको तर्फबाट सरकारलाई झकझक्याई राखेका छौं ।’

विभागकै लागि मात्र १ सय ३ जना दरबन्दी थप भएको भन्दै उहाँले सम्भवत यसै वर्ष आवश्यक दरबन्दी पूर्ति हुने उहाँले बताउनुभयो । खाद्य पदार्थमा स्वच्छता र गुणस्तरीयता कायम गर्दै उपभोक्ताको स्वास्थ्यको संरक्षणका लागि राष्ट्रिय खाद्य स्वच्छता नीति बमोजिम कार्ययोजना बनाएर छिटै नै यसलाई कार्यान्वयमा ल्याउने पनि उहाँले बताउनुभयो । 

विभागले आगामी दिनमा दूध, पानी तथा तेलमा स्वच्छता एवं गुणस्तर कायम राख्न देशैभरि अभियानको रुपमा कार्यक्रम सञ्चालनलाई निरन्तरता दिने, विभाग अन्तर्गत राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालाको जीवनाशक विषादीको अवशेष विश्लेषण परीक्षणको क्षमता अभिवृद्धि तथा खाद्य स्वच्छता नियमन तथा निर्यातमा सहजीकरण गर्न थप विषयको अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने योजना अघि सारेको छ ।

यस्तै, विभाग मातहतका कार्यालयहरुमा रहेको प्रयोगशालाहरुको जीवनाशक विषादीको अवशेष परीक्षणका लागि स्तरोन्नति गरिने, आयातीत खाद्यवस्तुको स्वच्छता र गुणस्तर कायम गर्न खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयका प्रयोगशालाको सुदृढीकरण गर्ने, राष्ट्रिय खाद्य स्वच्छता नीति लागू गर्न कार्ययोजना बनाउने, तथा अन्तर्राष्ट्रिय मापदण्डसंग समतुल्य हुने गरी खाद्य स्वच्छता तथा गुणस्तर मापदण्डहरू तयारी र परिमार्जन गरी लागू गर्ने लगायत योजना विभागको छ । 


प्रतिक्रिया