काँग्रेस केन्द्रीय समिति बैठकले विवाद टुंग्याउने

श्रावण १७, २०७६ | काठमाडौं

नेपाली काँग्रेसले पार्टीको अन्तरिम संरचना गठनको विवाद आज टुंगो लगाउने भएको छ । संस्थापन र ईतर पक्षबीचको असहमतीका कारण लामो समयदेखी देखिएको विवाद जारी केन्द्रीय कार्य समिति बैठकले टुंगो लगाउने भएको हो ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा अपरान्ह १ बजे बस्ने बैठकबाट यसअघि नै छलफल भएको अन्तरिम संरचनाको बिषय टुंगो लाग्ने प्रबक्ता बिश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

काँग्रेसले बिधानको धारा ७२ को उपधारा ४ बमोजिम अन्तरिम संरचनाको बिवाद टुंग्याउन लागेको हो । सो उपधारामा राज्यको पुनर्संरचनापछि परिवर्तित सिंमाङ्कनका लागि अन्तरिम संरचनाको ब्यबस्था गरिएको छ ।

गत असार २२ गतेबाट जारी केन्द्रीय समिति बैठकका लागि निर्धारण गरिएका १४ मध्ये छलफल सकिएका २ बिषयमा आजको बैठकले निर्णय गर्ने शर्माले बताउनुभयो । त्यस्तै बाँकी रहेका १२ एजेण्डामा पनि आज छलफल सुरु हुने छ ।  

बैठकमा केन्द्रीय अनुशासन समिती, केन्द्रीय प्रशिक्षण प्रतिष्ठान, भ्रातृ संगठनको विधान लगायत विषयमा छलफल गर्ने एजेण्डा तय भएको छ ।  

पार्टीको अन्तरिम संरचना निर्वाचनबाट गर्ने वा सहमतिबाट भन्ने विषयमा नेताहरुबीच सहमति हुन नसकेपछि काँग्रेसको बैठक लम्बिएको हो । ४ वर्षसम्म पनि पार्टीका अन्य निकायहरु गठन हुन नसकेपछि काँग्रेसमा संघीय ढाँचा अनुसारको पार्टी संरचना गठन प्रक्रिया सकसपूर्ण बनेको हो ।

१४ औँ महाधिवेशनलाई अघि वढाउन कम्तिमा वडा र संघीय निर्वाचन क्षेत्रीय कार्यसमिति गठन हुनुपर्ने व्यवस्था छ । 


प्रतिक्रिया