त्रिपुराको धुस्कुनमा पहिरोका कारण ९ घर विस्थापित, २२  जोखिममा

श्रावण २२, २०७६ | सिन्धुपाल्चोक

– अविरल वर्षातको कारण माथिल्लो भु–भाग भासिएर पहिरो जाँदा त्रिपुरासुन्दरी गाउँपालिका वडा ३ धुस्कुनमा नौ घरपरिवार विस्थापित भएका छन् । बस्तीमाथिको खेतबारी भलसँगै बग्न थालेपछि २२ भन्दा बढी घर उच्च जोखिममा परेका छन् ।

गएराती बर्षातले धुस्कुनको फागु, चित्रेपाटी, फापरचौरलगायतका बस्तीमा त्राहीमाम मच्चिएको स्थानीय विद्यालयकी प्रधानध्यापक अप्सरा खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, ‘विस्थापीत कहाँ जाने अन्योलमा परेका छन्, भने बस्ती पुरा पहिरोसँगै बग्ने तैयारीमा देखिन्छ, सुरक्षित स्थानमा जाने पूर्वाधार व्यवस्थापन भइरहेको छ ।’ 

इलाका प्रहरी बाह्रबिसेकानुसार घटनास्थलमा प्रहरी पुगेर विवरण संकलन गर्दैछ । दिनहुँजसोको वर्षातले जिल्लाभर सानो ठुलो पहिरो गएसँगै अधिकांश बस्ती जोखिममा परेको प्रहरीले जनाएको छ । बजारभन्दा ग्रामिण भेगमा पहिरोले विस्थापीत बनाएको पाइएको प्रहरीको भनाई छ । कतै सडक त कतै जमिन भासिएकाले समस्या आइरहेको स्थानीयको गुनासो छ ।  

यसैबीच, लगातारको बर्षातका कारण भोटेकोशीको सतह एकै रातमा हृवात्तै बढेपछि तटीय क्षेत्रका स्थानीय त्रसित छन् । कोसी रातारात भरिएर आएपछि सीमाक्षेत्र तातोपानी,चाकु जम्बु हुदै बाह्रबिसे,खाडीचौरदेखि सुकुटे बजारसम्म भागाभाग मच्चिएको छ ।

‘सधै बर्खामा यस्तै समस्या व्यहोरिरहनुपर्ने भो, वर्षात भएको दिन राम्रोसँग निदाउन सकिदैन्,’ बाह्रबिसे बजारका स्थानीय उद्धवबहादुर तिवारीले भने ।

बाह्रबिसेका मेयर निफुञ्जो शेर्पा र भोटेकोशी गाउँपालिका प्रमुख राजकुमार पौडेलले प्राकृतिक विपद् व्यवस्थापनको लागि पहलकदमीमा लागिरहेको दाबी गर्नुभयो ।  

 


प्रतिक्रिया