सुनको मूल्यमा नयाँ कीर्तिमान, कारोबार ठप्प

श्रावण २२, २०७६ | काठमाडौं

पछिल्लो समय सुनको मूल्य अस्वभाविक रुपमा बढेपछि कारोबार ठप्प भएको छ । गत बिहीबार साउन १६ गते प्रतितोला ६५ हजार रुपैयाँमा कारोबार भएको सुन नयाँ कीर्तिमान छुँदै आज ६९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।

साउन लागेसँगै कारोबारमा केही सुधार आएपनि पछिल्लो समय अस्वभाविक रुपमा बढेको मूल्यका कारण केही दिन देखि सुन कारोबार ठप्प छ । हिजो प्रतितोला ६८ हजार रुपैयाँमा कारोबार भएको सुन आज एकैदिन १५ सय रुपैयाँ बढेर ६९ हजार ५ सय रुपैयाँ पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्यमा भईरहेको घटबढका कारण गत असार १५ गते देखिनै सुनको कारोबारमा कमी आएको सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । गत बिहीबार देखि सुनको भाउ लगातार बढीरहेको छ ।

उहाँले भन्नुभयो, ‘गत असार देखि नै सुनको कारोबारमा कमी आएको थियो । भाउ बढेको कारण असारमा बिहेको लगन भएपनि कारोबारमा धेरै कमी भयो । नेपालीहरुको क्रय शक्तिमा पनि वृद्धि हुन सकेको छैन । अहिले जन रुपमा सुनको मूल्य बढ्यो त्यो हामीले सोच्नै नसकिने गरी भाउ बढ्यो ।’ 

सुनको मूल्य बढेपछि केही दिन अघिसम्म कारोबार २५ प्रतिशतमा झरेको कारोबार हाल आएर शुन्य प्राय छ । खासगरी चीन र अमेरिककाको व्यापार युद्धका कारण सुनको मूल्य अकासिएको महासंघका अध्यक्ष शाक्यले बताउनुभयो । पछिल्लो समय अमेरिककाले चीनसँगको व्यापारमा कडाइ गरेपछि लगानीकर्ताले सुनमा लगानी बढाएको उहाँको भनाई छ । 

केही महिनायता अमेरिकाले तीन पटकसम्म चीनबाट आयात हुने सामग्रीमा कर बढाइरकेको छ । चीन र अमेरिकाको व्यापार युद्धकै कारण विश्व बजारमा सुनको मूल्य महँगो भएको र त्यसको प्रत्यक्ष असर नेपाली बजारमा परेको जानकारहरू बताउँछन् । डलरको तुलनामा भारतीय रुपैयाँ पनि कमजोर भएकाले नेपाली बजारमा सुनको भाउ बढेको महासंघका पूर्व अध्यक्ष शाक्यको दाबी छ ।


प्रतिक्रिया