बैंक लुटपाट गर्न खोज्ने पक्राउ 

श्रावण २४, २०७६ | बारा

बारा सदरमुकाम कलैयामा रहेको एनसीसी बैंक लुट्न खोज्ने एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ । बैंक लुटेको आरोपमा कलैया उपमहानगरपालिका–१६ का १७ वर्षीय रोशन कुसवाहालाई प्रहरीले पक्राउ गरेको हो ।

भारतको चण्डीगढमा इन्जिनियरिङ पढ्दै गर्दा मोडलिङ गर्न नाम निस्केकोमा त्यसका चाहिने रकमको लागि आफूले बैंकमा पैसा चोर्न गएको उनले प्रहरीलाई बयान दिएका छन् । 

सोही बैंकमा उसको खाता समेत रहेकाले काउन्टरमा राति पनि पैसा रहन्छ भनेर आफूले चोरी गर्न गएको उनले बयान दिएको प्रहरीले जनाएको छ । अरु घरको छतबाट बैंकको कम्पाउण्डमा छिरी मुल ढोकाको ताल्चा फोडेर बैंक भित्र प्रवेश गरेर विद्युत र सीसी क्यामराको लाइन काटेर लुट्न खोज्दा बैंकका सुरक्षा गार्डले पक्राउ गरेका थिए ।

पूर्व प्रहरी हवल्दार समेत रहेका बैंकको सुरक्षा गार्ड साहेब प्रसाद यादवले पक्राउ गरी प्रहरीलाई खबर गरेका थिए । पक्राउ गर्ने सुरक्षा गार्ड साहेबलाई प्रहरी उपरिक्षक सानुराम भट्टराईले ५ हजार नगद प्रोत्साहन पुरस्कार दिएका छन् । अभियुक्त रोशलाई चोरी उद्योग मुद्दामा बारा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका एक प्रहरी अधिकारीले बताए । 


प्रतिक्रिया