भारतबाट आयातीत आलुमा अत्यधिक विषादी

श्रावण २५, २०७६ | मोरङ

भारतबाट आयात भएका आलुमा अत्यधिक विषादी पाइएको छ । सुनसरीको भण्टाबारी भन्सार कार्यालयबाट परीक्षणका लागि ल्याइएको आलुमा अत्यधिक विषादी पाइएकोले आयातमा रोक लगाइ क्वारेण्टाइनको निगरानीमा राखिएको हो ।

प्रदेश १ सरकारले विराटनगरस्थित बाली संरक्षण प्रयोगशालामा स्थापना गरेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालामा जाँच गरिएको नमूनामा अत्यधिक विषादी प्रयोग भएको पाइएको हो । प्रयोगशालाका प्रमुख मुकेशकुमार यादवले सुनसरीको भण्टाबारी भन्सार कार्यालयले पठाएको भारतबाट आयातीत आलुको नमूनामा ३८ रुकावट प्रतिशत पाइएकोले तत्काल आयात नगर्न पत्राचार गरेको बताउनुभयो ।

विषादीयुक्त आलुलाई क्वारेण्टाइनको निगरानीमा राख्न समेत पत्राचार गरेको उहाँले बताउनुभयो । ‘आलुमा रुकावट प्रतिशत ३५ भन्दा कम आयो भने मात्रै खान योग्य हुन्छ,’ उहाँले भन्नुभयो, ‘३५ देखि ४५ सम्म रुकावट प्रतिशत आयो भने ३/४ दिन निगरानीमा राखेर पुनः परीक्षण गर्नु पर्छ ।’ पुनः परीक्षण गर्दा पनि रुकावट प्रतिशत ३५ भन्दा कम नआएको खण्डमा आयात गर्न पूर्ण रुपमा प्रतिबन्ध लगाउन सिफारिस गर्ने यादवले बताउनुभयो । 

प्रदेश १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले विराटनगरस्थित बाली संरक्षण प्रयोगशालामा तरकारी तथा फलफूलमा पाइने विषादी परीक्षण गर्न असार २३ गते प्रयोगशाला स्थापना गरेदेखि हालसम्ममा ३९ वटा नमूना परीक्षण गरिएको यादवको भनाई छ । 

‘हालसम्म्म परीक्षण गरिएका नमूनामध्ये २९ वटा सुनसरी भन्सार कार्यालयको र बाँकी विराटनगर बजारबाट आएको छ,’ उनले भने, ‘करिब एक महिनादेखि विषादी परीक्षण गर्दै आएको आलु र प्याजका नमूनामध्ये यो एउटामा मात्रै ३८ रुकावट प्रतिशत आएको र बाँकीमा ३० भन्दा कम रुकावट प्रतिशत आएको थियो ।’ 

संघीय सरकार मातहतका विराटनगर भन्सार कार्यालयले प्रदेश सरकार मातहतको भएको भन्दै त्यहाँ विषादी परीक्षणका लागि तरकारी तथा फलफूलको नमूना नपठाउने गरेको उहाँले बताउनुभयो । विराटनगर भन्सार कार्यालयले तरकारी तथा फलफूलको नमूना विषादी परीक्षणका लागि संघीय सरकार मातहतको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला झापाको बिर्तामोड पठाउने गरेको छ ।

प्रयोगशालाका प्रमुख यादवले केन्द्रीय कृषि प्रयोगशालाका वरिष्ठ बाली संरक्षण अधिकृत राजीवदास राजभण्डारीले त्यहाँका प्राविधिकहरुलाई तरकारी र फलफूलमा पाइने विषादी परीक्षणको बारेमा प्रशिक्षण दिएपछि आफूहरुले परीक्षण सुरु गरेको बताउनुभयो ।

‘अहिले दुई समूहको विषादी परीक्षण गर्ने उपकरण एसपेक्ट्रो फोटोमिटर मात्रै छ,’ उहाँले भन्नुभयो, ‘तरकारी तथा फलफूलमा पाइने पाँच समूहमध्ये कार्वामेट र अर्गानोफस्फेट समूहको विषादीको मात्रै परीक्षण गरिरहेका छौं ।’ बिर्तामोडमा पनि त्यही दुई समूहकै विषादी परीक्षण हुने गरेको उहाँले बताउनुभयो । 

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले करीब २ करोडको लागतमा ग्यास प्रोम्याटोग्राफे उपकरण लगायत आवश्यक सामग्री खरिदका लागि टेण्डर आहृवान गरिसकेको छ । यही पहिलो चौमासिकमा यो उपकरण जडान हुने यादवले बताउनुभयो । त्यसपछि त्यहाँ सबै समूहको विषादी परीक्षण गर्न सकिने र तरकारी तथा फलफूलमा विषादीको प्रतिशत समेत जाँच गर्न सक्षम हुने उहाँको भनाई छ । 

प्रदेश १ सरकारले स्थापना गरेको प्रयोगशालाको प्रतिवेदनलाई विराटनगर भन्सार कार्यालयले मान्यता नदिंदा त्यहाँका व्यापारीहरु सास्ती खेप्न बाध्य छन् । व्यापारीहरुले विराटनगर भन्सार कार्यालयबाट तरकारी तथा फलफूलको नमूना लिएर विषादी जाँच गराउन बिर्तामोड जानै पर्ने बाध्यात्मक परिस्थिति रहेको गुनासो पोखे ।

बिर्तामोडबाट विषादी परीक्षण गराएर ल्याउँदा हैरानी बढनुका साथै तरकारी तथा फलफूल आयातमा लागत समेत बढ्ने गरेको विराटनगरस्थित गुद्री बजारका तरकारी व्यापारी रञ्जयकुमार गुप्ताले बताउनुभयो । ‘बिर्तामोडबाट विषादी जाँच गरेर ल्याउन समय दाग्ने हुँदा डिटेन्सन शुल्क र ढुवानी भाडाको लागत बढ्ने गरेको छ,’ उहाँले भन्नुभयो, ‘तरकारी तथा फलफूलको लागत बढ्दा उपभोक्ताले महंगो मूल्य तिर्न बाध्य भएका छन् ।’ 

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पटक पटक विराटनगर भन्सार कार्यालयलाई नमूना पठाउन पत्राचार गर्दा समेत बेवास्ता गर्दै आएको छ । विराटनगर भन्सार कार्यालयले नमूना नपठाएपछि संघीय सरकारको अर्थ मन्त्रालय र कृषि मन्त्रालयमा पहल थालेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव हस्तबहादुर विष्टले बताउनुभयो । उहाँले संघीय सरकारका दुबै मन्त्रालयबाट आश्वासन प्राप्त भएकोले चाँडै समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो । 

विराटनगर भन्सार कार्यालयका भन्सार अधिकृत सुशिलप्रसाद शर्माले भन्सार विभागबाट आदेश नआएकाले आफूहरूले तरकारी तथा फलफूल परीक्षणका लागि झापाको बिर्तामोड पठाउने गरेको बताउनुभयो । सरकारले भारतलगायत तेस्रो मुलुकबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी जाँच गरेर मात्रै आयात गर्न पठाएको पत्र अनुसारै बिर्तामोडमा नमूना पठाउने गरिएको उहाँले बताउनुभयो ।

विभाग, मन्त्रालयले प्रदेश सरकारको प्रयोगशालामा नमूना जाँचका लागि अर्को पत्र पठाइदिए आफूहरुलाई पनि सहज हुने उहाँको भनाई थियो । विराटनगर भन्सारबाट दैनिक दुई ट्रक हरियो तरकारीका साथै आलु र प्याज दैनिक १० ट्रक आयात हुने गरेको विराटनगर भन्सार कार्यालयका भन्सार अधिकृत सुशिलप्रसाद शर्माले बताउनुभयो । 


प्रतिक्रिया