नेपाली सेनासँग १ हजार ९६८ रोपनी जग्गा ! अब के गर्ने ? 

श्रावण २५, २०७६ | काठमाडौं

करीब २ हजार रोपनी जग्गा ब्यवस्थापन बारे नेपाली सेनाले छलफल सुरु गरेको छ । जग्गा किनबेचमा सेना संलग्न रहेको भन्दै चौतर्फी विरोध भएपछि सेनाले काठमाडौ, भक्तपुर, इटहरी, पोखरा, चितवनमा रहेको कुल १ हजार ९ सय ६८ रोपनी जग्गालाई कसरी ब्यवस्थित गर्ने भन्दै सकल दर्जा बाटै राय लिएको हो ।  

ब्यवसायीको आरोप खेप्दै आएको सेनाले आफूसँग रहेको जग्गाको उचित प्रयोगका लागि विकल्प सहितका सहज मध्यमार्गी निकाशका लागि छलफल भईरहेको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताउनुभयो । हाल नेपाली सेनासँग सबैभन्दा धेरै सुनसरीको इटहरीमा १ हजार १ सय ८ रोपनी जग्गा छ । यस्तै चितवनमा २ सय ८९, काठमाडौको कीर्तिपुरमा २ सय २६ र भक्तपुरको दुवाकोटमा १ सय २२ रोपनी जग्गा छ । 

पोखरास्थित फूलबारीमा ७२ र राधाकृष्ण टोलमा १ सय ५१ रोपनी जग्गा छ । लामो समयदेखि उपयोग हुन नसकेको जग्गालाई प्रयोगमा ल्याउन प्रधानसेनापति पूर्णचन्द्र थापा पनि सक्रिय हुनुभएको प्रवक्ता पाण्डेको भनाई छ । प्रधानसेनापतिमा नियुक्त भएपछि थापाले बहालवाला र पूर्व सैनिक अधिकृतसँग पनि यस विषयमा पटक/पटक छलफल गरिसक्नुभएको छ । 

प्राप्त सुझाव अनुसार प्रधानसेनापति थापाले ती जग्गामा एकिकृत बस्ती निर्माण गर्ने तयारी गर्नुभएको छ । प्रधानसेनापति थापाको तीन बर्षे कार्ययोजनामा पनि एकिकृत बस्ती विकासको योजना छ । साउन मसान्त भित्रै जग्गाको उपयोगिताको बहस टुंगिने प्रवक्ता पाण्डको भनाई छ । 


प्रतिक्रिया