बुद्धसभ्यता झल्काउन लुम्बिनीमा एक लाख बिरुवा रोपिंदै

श्रावण २६, २०७६ | बुटवल

बुद्धकालीन सभ्यताको झल्को दिन भन्दै बुद्ध जन्मस्थल लुम्बिनीलाई हरियाली बनाउने अभियान सुरु भएको छ । लुम्बिनी विकास कोषले फलफूल र कल्पवृक्षका बिरुवा रोपेर लुम्बिनीलाई हरियाली बनाउन थालेको हो ।  

बुद्धजयन्तीका अवसरमा प्रधानमन्त्री केपि शर्मा ओलीले वृक्षारोपणको शुभारम्भ गर्दै लुम्बिनीमा एकलाख फलफूलका बिरुवा रोप्ने अभियान सुरु गर्नुभएको थियो ।  अहिले वृक्षारोपणका लागि नेपाली सेनालाई जिम्मा दिइएको छ ।

बिरुवालाई सिंचाई गर्नका लागि विभिन्न ठाउँमा पोखरी निर्माण गरिएका छन् । यो बर्ष २६ सय ४२ वटा फलफूलका बिरुवा रोपिने लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव सरोज भट्टराईले बताउनुभयो ।

लुम्बिनीको विकासका परिकल्पनाकार जापानिज प्रोफेसर केन्जो टाागेले पनि लुम्बिनी विकासको गुरुयोजना बनाउँदा बगैचाको परिकल्पना गर्नुभएको थियो । लुम्बिनी विकास कोषको ६० प्रतिशत भू–भाग हरियाली हुनुपर्ने उल्लेख गरेकाले यसलाई व्यवस्थित गर्न लागिएको सदस्य सचिव भट्टराईको भनाइ छ । 

 


प्रतिक्रिया