आप्रवासी नीति कठोर बनाउँदै अष्ट्रेलिया

श्रावण २७, २०७६ | अष्ट्रेलिया

अष्ट्रेलियाले आफ्नो आन्तरिक सुरक्षालाई मजबुत बनाउने उद्देश्यले आप्रवासी नीतिमा अझ कडा नियम ल्याउने तयारी गरेको छ । पछिल्लो समयमा आप्रवासी नियममा कडाई गर्दै आएको अष्ट्रेलियाली सरकारले विदेशी नागरिकहरुले आफ्नो देशमा कुनै अपराध गरेको खण्डमा उनीहरुको देशमा फिर्ता पठाउने नियममा परिमार्जन गर्ने भएको छ ।

आप्रवासीहरुको लागि सुरक्षित देशका रुपमा चिनिँदै आएको भएपनि आफ्नो आन्तरिक सुरक्षा र ब्यवस्थालाई त्तयानमा राखेर समय अनुसार आप्रवासी नियम परिवर्तन गर्न लागिएको जनाइएको छ । परिवर्तित नियम अनुसार कुनै पनि अपराधमा एक वर्ष जेल सजाय भोगेका ब्यक्तिहरुलाई देश निकाला गर्दै आएको अष्ट्रेलियाली सरकारले अबदेखि कुनै जेल सजायँ नभोगेका विदेशी नागरिकहरुलाई उनीहरुको देश फिर्ता पठाउन सक्ने भएको छ । 

कुनैपनि सजायमा दुई वर्षसम्म सजाय तोकिएको खण्डमा उनीहरुलाई अष्ट्रेलिया सरकारले अबदेखि उनीहरुकै आफ्नो देशमा फिर्ता पठाउने नियम सुरु गर्न लागेको छ । यस सम्बन्धी नयाँ नियमका बारेमा अध्यागम मन्त्री डेभिड कोलम्यानले सार्वजनिक गरेका छन् । 

अध्यागमन विषयका विज्ञ संजीव पाण्डेले भन्नुभयो, ‘वास्तवमा यो आप्रवासीहरुप्रति कठोर रुपमा प्रस्तुत हुने भन्दा भन्दा पनि आफ्नो देशको भाइचारा र सुरक्षालाई ध्यान दिएर ल्याउन लागिएको नियम हो ।’ 

उहाँको भनाईमा अष्ट्रेलिया पछिल्लो समयमा आफ्नो देशको आन्तरिक सुरक्षा र सदभावमा केन्द्रित भएका कारण समेत नयाँ नियमहरु ल्याइरहेको हो ।

कुनैपनि देशले आफ्नो देशका नागरिक तथा ब्यवस्थाको सुदृढिकरणका लागि ल्याउने नयाँ नियमहरुलाई अन्यथा मान्न नहुने उहाँको भनाई छ । नयाँ नियममा कुनैपनि अपराधमा दोषि ठहरिए र उनीहरुले जेल सजायँ नतोकिएपनि उनीहरुलाई फिर्ता पठाउने प्रावधान थपिने भएको छ । यदि गलत र गैरकानूनी कार्यहरु गरेको खण्डमा नेपालीहरु समेत यसमा पर्ने उहाँको भनाई छ ।

स्थानीय सञ्चार माध्यमहरुका अनुसार बितेको ६ वर्षको अन्तरालमा अष्ट्रेलियाले ४ हजार ७ सय विदेशी नागरिकहरुलाई उनीहरुकै देशमा फिर्ता पठाइसकेको छ । जसमा नेपालीहरुको संख्या समेत उल्लेख्य रुपमा रहेको यसै क्षेत्रमा काम गरिरहेकाहरुको भनाई छ । अष्ट्रेलियाको कानूनमा विद्यावारिधी गरेका डा. समसेरसिंह थापा अष्ट्रेलियाको समाज र नागरिकहरुलाई कुनै खतरा हुने अवस्था आएमा विदेशीहरुलाई उनीहरुकै देश फिर्ता पठाउने उद्देश्यका साथ नयाँ नियमहरु ल्याइएको बताउँछन् ।

उहाँले भन्नुभयो, ‘अस्ट्रेलिया सरकारले केही समयदेखि आफ्नो देश र नागरिकहरुलाई सुरक्षा दिने उद्देश्यका साथ नियमहरु परिवर्तन गरिरहेको छ, ‘अस्ट्रेलिया सरकारले यदि आफ्नो देशको शान्ति सुरक्षामा खलल पुर्‍याउने कुनै कार्य भएको थाहा पाएको खण्डमा जोसुकैलाई पनि फिर्ता पठाउन सक्छ र यसलाई अन्यथा मान्न सकिन्न् ।’

अस्ट्रेलियाले पछिल्लो समयमा विदेशका दक्ष तथा सीप भएका नागरिकहरुलाई भित्र्याउने तथा त्यहाँ रहेका तर अपराधिक गतिविधिमा संलग्न भएकाहरुलाई फिर्ता पठाउने नीति लिंदै आएको छ । चारित्रिक जाँचमा उत्तीर्ण नहुनेहरुलाई फिर्ता पठाउने उद्देश्यका साथ परिवर्तन गर्न लागिएको नयाँ नियमले दशौं हजार विदेशीहरुलाई समस्यामा पार्ने भन्दै सरकारको नयाँ नियमको विरोध समेत गरिएको छ । अष्ट्रेलियाका अध्यागमन मन्त्री कोलम्यानले यसले गैर नागरिकहरुलाई त्यहाँको समाज कुनैपनि अपराधमा दोषी ठहरिएकाहरुका लागि सहनशिल नभएको सन्देश दिने बताएका छन् । अष्ट्रेलियामा बसोबास गर्न पाउनु विशिष्ट अधिकार भएको उहाँको भनाई छ । 


प्रतिक्रिया