सुनको मूल्य बढेर ७१ हजार पुग्यो

श्रावण २८, २०७६ | काठमाडौं

नेपाली बजारमा सुनको भाउ बढेर प्रतितोला ७१ हजार पुगेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ बढेर तोलाको ७१ हजार रुपैयाँ पुगेको हो । मंगलबार तेजावी सुन ७० हजार ७ सयमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औस १५ सय ७ अमेरिकी डलर पुगेर नेपाली बजारमा भाउ ७१ हजार रुपैयाँ भएको हो । चाडपर्वसँगै सुन महँगिए पछि  कारोबार भने ओरालो लागेको छ । तीजको सिजन सुरु भइसक्दा र दशैं नजिकिँदा समेत राजधानीका सुन पसलमा ग्राहकको चहलपहल हुन नसकेको व्यापारी बताउँछन् । मूल्य बढ्दै गएपछि किनबेच झन्डै ८० प्रतिशतले घटेको व्यापारीको भनाई छ ।

खासगरी चीन र अमेरिककाको व्यापार युद्धका कारण सुनको मूल्य अकासिएको जानकारहरू बताउँछन् । पछिल्लो समय अमेरिककाले चीनसँगको व्यापारमा कडाइ गरेपछि लगानीकर्ताले सुनमा लगानी बढाएका छन् ।

केही महिनायता अमेरिकाले तीन पटकसम्म चीनबाट आयात हुने सामग्रीमा कर बढाइरकेको छ । चीन र अमेरिकाको व्यापार युद्धकै कारण विश्व बजारमा सुनको मूल्य महँगो भएको र त्यसको प्रत्यक्ष असर नेपाली बजारमा परेको जानकारहरू बताउँछन् । डलरको तुलनामा भारतीय रुपैयाँ पनि कमजोर भएकाले नेपाली बजारमा सुनको भाउ बढेको महासंघको भनाई छ । 


प्रतिक्रिया