लामो दूरीको सवारीमा दुई चालक अनिवार्य

रेडियो कान्तिपुर संवाददाता

श्रावण २८, २०७६ | काठमाडौं

लामो दूरीका सवारी साधनमा अनिवार्य रुपमा दुई चालक हुनुपर्ने व्यवस्थालाई यातायात व्यवस्था विभागले कडाईका साथ कार्यान्वयन गर्ने भएको छ । विभागले आज सूचना जारी गर्दै प्रस्थान बिन्दुबाट २ सय ५० किलोमिटर वा सो भन्दा बढी दूरीमा चल्ने सवारी साधनले अनिवार्य रूपमा दुई चालक राखी प्रत्येक ५ घण्टापछि पालैपालो सवारी चलाउन लगाउने व्यवस्था मिलाउन यातायात सेवा सञ्चालन गर्ने व्यवस्थापक तथा सवारी धनीलाई निर्देशन दिएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १ सय ४ मा सो व्यवस्था उल्लेख छ । यस्तै, सो ऐनको दफा १ सय ३ मा चार घण्टा भन्दा बढी दूरीमा चल्ने यात्रुबाहक सार्वजनिक सवारीले प्रत्ये ४ घण्टामा एक पटक आधा घण्टा विश्रमाल लिनुपर्ने व्यवस्था छ ।

सो व्यवस्थालाई पनि कडाईका साथ लागू गर्ने विभागले जनाएको छ । एउटै चालकले लामो दूरीमा सवारी चलाउँदा थकानका कारण सवारी दुर्घटनाको दर बढेको विभागको भनाई छ । विभागले सार्वजनिक सवारीलाई सुरक्षित र व्यवस्थित बनाउन दिइएको निर्देशन कार्यान्वयन नगरेको पाइए सम्बन्धित यातायात धनीविरुद्ध कारबाही गरिने चेतावनी समेत दिएको छ ।

दुर्घटना न्यूनीकरण तथा यातयात व्यवस्थालाई भरपर्दो बनाउने पर्याप्त कानून भएपनि कार्यान्वयन फितलो हुँदा सार्वजनिक सवारीमा यात्रा गर्नेले अकालमा ज्यान गुमाउँदै आएका छन् । विशेषतः लामो दूरी तथा राक्रि सेवाका सवारी चालक यात्राकै त्रममा निदाउने, थकान तथा तोकिएको समयमै गन्तव्यमा पुग्नुपर्ने मानसिक तनावका कारण दुर्घटना बढेको ट्राफिक प्रहरीले जनाएको छ ।

गत शुक्रबारमात्रै सर्लाहीको मलङ्गवाबाट काठमाडौं आउँदै गरेको यात्रुबस पृथ्वी राजमार्गको बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटमा त्रिशूली नदीमा खस्दा ११ जनाको मृत्यु भएको थियो । सोही दुर्घटनामा परी एक बालक सहित २० बेपत्ता भएका थिए । चालक निदाएका कारण सो दुर्घटना भएको प्रहरीले जनाएपछि सडक सुरक्षाको विषयमा सरकार गम्भीर नभएको भन्दै सर्वत्र आलोचना भएको छ । 


प्रतिक्रिया