विद्युत प्राधिकरणको नाफा ७ अर्ब २० करोड

श्रावण २८, २०७६ | काठमाडौं

नेपाल विद्युत प्राधिकरणको नाफा ७ अर्ब २० करोड रुपैयाँ पुगेको छ । प्राधिकरणले आज वार्षिक उपलब्धी सार्वजनिक गर्दै आर्थिक वर्ष २०७५/७६ मा ७ अर्ब २० करोड रुपैयाँ मुनाफा भएको जानकारी दिएको हो । गत आर्थिक वर्षको भन्दा यो वर्ष नाफा १ सय ४९ प्रतिशतले बढेको प्राधिकरणले जनाएको छ ।

आर्थिक वर्ष २०७४/७५ मा प्राधिकरणले २ अर्ब ९० करोड रुपैयाँ नाफा गरेको थियो । विद्युत प्राधिकरणको नाफामा यो वर्ष लगभग ४ अर्ब रुपैयाँ वृद्धि भएको छ । यस्तै, विद्युत प्राधिकरणले आर्थिक वर्ष २०७५/७६ गत वर्षको भन्दा ५ प्रतिशतले चुहावटमा पनि कमी आएको जनाएको छ ।

यस वर्ष प्राधिकरणको चुहावट कुल १५ दशमलव ३२ प्रतिशत छ । जबकी २०७४/७५ मा प्राधिकरणको चुहावट २० दशमलव ४५ प्रतिशत थियो । गत आर्थिक वर्षमा सरकारी ढुकुटीमा १५ अर्ब ५९ करोड रुपैयाँ जम्मा गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको नाफा वृद्धि भएसँगै विद्युत उपभोग गर्ने उपभोक्ताको संख्यामा पनि गत वर्षको तुलनामा १० प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्ष ग्रीडमा आवद्ध भई विद्युत उपभोग गर्ने उपभोक्ताको संख्या बढेर ४५ लाख पुगेको छ ।


प्रतिक्रिया