जम्मुकश्मिरमा रहेका नेपालीका सम्बन्धमा दिल्लीमा छलफल

श्रावण २९, २०७६ | नयाँ दिल्ली

जम्मुकश्मिरमा रहेका नेपालीहरुको पछिल्लो अवस्थाका सम्बन्धमा भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासले प्रवासी नेपालीहरुका संगठनका प्रतिनिधिहरुसँग छलफल गरेको छ । जम्मुकश्मिरमा विभिन्न पेशा व्यवसाय गर्दै आएका करीब ८० हजारको संख्यामा रहेका नेपालीहरुको सुरक्षालाई लिएर चिन्ता व्यक्त भइरहेका बेला दूतावासले छलफल थालेको हो ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले गत साता जम्मुकश्मिरको विशेषाअधिकार खारेज लगायतका निर्णयले भारत र पाकिस्तानबीचको सम्बन्ध तनावपूर्ण बन्दै गइरहेका बेला त्यहाँ रहेका नेपालीको बारेमा दूतावासले चासो देखाएको हो । 

छलफलमा भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले प्रवासी संगठनका प्रतिनिधिहरुसँग जम्मुकश्मिरमा रहेका नेपालीहरुको सुरक्षा लगायतका विषयमा के–कसरी अगाडि बढ्न सकिन्छ भन्ने जिज्ञासा राख्नु भएको थियो । 

राजदूत आचार्यसँगको छलफलमा नेपाल कम्युनिष्ट पार्टी, नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा लगायत राजनीतिक दल निकट प्रवासी संगठनका प्रतिनिधि र दूतावासका अन्य अधिकारीहरु समेत उपस्थिति थिए ।  

साथै प्रवासी संगठनका प्रतिनिधिहरुले जम्मुकश्मिरमा देखिएका पछिल्लो तनावका कारण त्यहाँ स्थायी र अस्थायी रुपमा बस्दै आएका नेपालीहरुले भोग्नु परेका समस्याहरुको जानकारी गराएका थिए । विशेष गरी कश्मिर उपत्यकामा नेपालीहरुको जीवनयापन दिनप्रतिदिन कष्टकर बन्दै गएको र नेपाल सरकारले भारत सरकारसँगको समन्वयमा आवश्यक पहल थाल्नु पर्ने सुझाव पनि उनीहरुले दिएका थिए ।

‘जम्मुकश्मिरका नेपालीहरुले भोग्नु परेको समस्याका बारेमा थाहा पाएसम्मका जानकारी राख्यौं’ छलफलमा सहभागी पूर्व एकीकृत नेकपा माओवादी निकट पूर्व अखिल भारत नेपाली एकता मञ्चका केन्द्रीय सचिव आरबी खडकाले बताउनुभयो । 

प्रवासी नेपाली संगठनहरुका अनुसार जम्मुकश्मिरका कठुवा, साम्बा, जम्मु शहर, उद्यमपुर, कश्मिरको श्रीनगर, पहलगाम, कार्गिल, लेह लद्दाक, बारामुला, पुलवामा, गुलमोहर लगायतका स्थानमा नेपालीहरुको बाक्लो उपस्थिति छ । तिनीहरुमध्ये धेरैजसो मजदुरी, चौकिदारी, कुक, भरिया र स–साना व्यापार लगायतका काममा संलग्न रहेको बताइन्छ । 

मोदी सरकारले गत सोमबार जम्मुकश्मिरले उपभोग गर्दै आएको संविधानको धारा ३७० खारेज र धारा ३५ (क) खारेज गरे पछि त्यहाँको परिस्थिति तनावपूणर्् ाबनेको हो । जम्मु र लेह–लद्दाक क्षेत्रमा परिस्थिति केही सहज भए पनि कश्मिर उपत्यकाभित्र त्यसमा पनि श्रीनगरको स्थिति भने अझै असहज नै रहेको छ । ईदका लागि आइतबार सुरक्षा व्यवस्था केही खुकुलो बनाइएको भए पनि बुधबारको स्वतन्त्रता दिवसलाई ध्यानमा राख्दै पुनः कडाई गरिएको छ । जसका कारण विशेष गरी श्रीनगर र आसपासका जिल्लामा रहेका नेपालीहरुलाई दैनिक उपभोग्य सामान किन्न पनि कडाई भएको धारणा दूतावासमा भएको छलफलमा सहभागी प्रवासी नेपाली संगठनका प्रतिनिधिहरुले राखेका थिए ।

साथै जम्कुकश्मिरमा देखिएको तनावपूर्ण स्थितिले त्यहाँको पर्यटन क्षेत्रमा ठप्प भएको हुँदा त्यस क्षेत्रमा काम गर्ने नेपालीहरुको रोजगारी नै संकट परेको समेत उनीहरुले बताएका थिए । साथै आफूहरुले जम्मुकश्मिरमा रहेका नेपालीहरुको अवस्था बुझ्न दूतावास र प्रवासी संगठनहरुको प्रतिनिधिहरु सम्मिलित संयुक्त टोली पठाउनका पहल गर्न समेत दूतावासलाई आग्रह गरेको समेत उहाँले जानकारी दिनुभयो । 


प्रतिक्रिया