चिनी आयातमा व्यवसायी उदासिन, परिपत्र कुरेको भनाई

रेडियो कान्तिपुर संवाददाता

श्रावण ३२, २०७६ | काठमाडौं

-व्यवसायी र सरकारबीचको  अस्पष्टताका कारण चिनी आयातमा लगाइएको परिमाणात्मक बन्देज हटेपनि भन्सारमा चिनी आयात ठप्प छ ।  गत वर्ष सरकारले लगाएको परिमाणात्मक बन्देज यही साउनबाट स्वतः हटेपनि व्यवसायीले भने सरकारबाट परिपत्र नभएको भन्दै चिनी आयात गरेका छैनन् । यद्यपी सरकारले भने बन्देज स्वतः हट्ने भनिसकेपछि त्यसका लागि अर्को परिपत्र आवश्यक नरहने बताउँदै आएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदार बहादुर अधिकारीका अनुसार साउन  १ गतेबाटै बन्देज स्वतः हट्ने भनि पूर्व घोषणा भइसकेको विषयमा पुनः परिपत्र आवश्यक पर्दैन । तर व्यवसायीले भने परिपत्र नहुनु भनेको बन्देज कायम रहनु जस्तै भएको दाबी गर्दै चिनी आयात गरेका छैनन् । बन्देज हटिसक्दा समेत मुख्य भन्सार नाकाहरुबाट आजसम्म चिनी भित्रिएको छैन । विराटनगर भन्सारका सूचना अधिकारी मणिराम अधिकारीका अनुसार सो नाकाबाट गत वर्षको असोजयता चिनी आयात ठप्प छ । साउनअघि बन्देजका कारण आयात नभएपनि बन्देज फुकुवा भएपनि आयात ठप्प नै छ । 

चिनीमा ४० प्रतिशत भन्सार शुल्क कायम गरिएकोले पनि आयात महँगो हुँदा आयातकर्ताले इच्छा नदेखाएको विश्लेषण वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनको छ ।  परिपत्रबाहेक भन्सार प्रक्रिया पनि झन्झटिलो भएकै कारण पनि  व्यवसायीहरूले आयातमा रुची नदेखाएका हुन् । सरकारले चिनी व्यवसायीलाई संरक्षण गर्ने नाममा गत वर्ष भदौ ३१ को मन्त्रिपरिषद् बैठकले वार्षिक एक लाख टन मात्रै चिनी आयात गर्न पाउने निर्णय गरेको थियो । 


प्रतिक्रिया