दुम्सी मारेर खाने तीन पक्राउ

श्रावण ३२, २०७६ | पाल्पा

जंगली जनावर दुम्सी मारेर खाने पाल्पाको रिव्दीकोट गाउँपालिकाका तीन जना पक्राउ परेका छन् । रिव्दीकोट गाउँपालिका–५, कुसुमखोला मरेडाँडा बसन्त बहादुर खड्का क्षेत्र, सोही गाउँपालिका ६ का भीमबहादुर गाहा, र धनबहादुर गाहा पक्राउ परेको प्रहरीले जनाएको छ । 

डिभिजन वन कार्यालयको अनुरोधमा प्रहरीले उनीहरुलाई बुधबार पक्राउ गरेको हो । भीमबहादुर छोरा आषिश गाहाको नाममा समेत पक्राउ पुर्जी जारी गरेको प्रहरी जनाएको छ । उनी बिरामी भएकाले पक्राउ नगरिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

कुसुम खोलाका बसन्तले ‘बल्ल आज दुम्सीको मासु खान पाइयो’ लेखेर सामाजिक सञ्जाल फेसबुकमा राखेका थिए । विभिन्न व्यक्तिलाई समेत ट्याग गरिएको थियो भने, मरेको दुम्सी र मासु काटेको देखेपछि त्यसैको आधारमा पक्राउ गरिएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत अर्जुन चापागाईले बताउनुभयो ।  

यसरी जंगलका कुनै पनि वन्यजन्तु मारेर वैद्यानिक रुपमा खान पाइदैन । उनीहरुलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार कारबाही प्रक्रिया अगाडी बढाइएको अनुसन्धान अधिकृत यमलाल पोखरेलले बताउनुभयो । उहाँका अनुसार २० हजारसम्म जरिवानाका साथै एक वर्षसम्म कैद वा दुबै सजायँको व्यवस्था छ । भदौ गतेसम्म अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।   


प्रतिक्रिया