रहिनन् अभिनेत्री शुभद्रा अधिकारी

रेडियो कान्तिपुर संवाददाता

श्रावण ३२, २०७६ | काठमाडौं

अभिनेत्री शुभद्रा अधिकारीको निधन भएको छ। अधिकारीको शनिबार बिहान आफ्नै निवास डल्लुमा निधन भएको हो।

७३ वर्षीया अधिकारी केही वर्षदेखि दम रोगबाट पीडित थिइन् । वि.स. २००३ सालमा काठमाडौंको असनमा जन्मेकी अधिकारीले ६ वर्षकी छँदा नेवारी नाटक ‘कचिमचा’ (काँचो माटो) बाट अभिनय यात्रा थालेकी थिइन् ।

नाटकमा निकै जमेकी उनले चिनो, कन्यादान, वसन्ती, मुनामदनलगायतका चलचित्रहरुमा प्रभावशाली अभिनय गरेकी थिइन् । अधिकारीको ६३ वर्ष लामो कला यात्रालाई समेटिएको जीवन गाथा ‘कलाकार सुभद्रा अधिकारी जीवन गाथा’ पुस्तक पनि प्रकाशित छन् |

अधिकारीले आफ्नी आमा स्व. नुरादेवी, स्व. पति कृष्ण प्रसाद अधिकारी र गुरु बद्री उस्तादमा समर्पण गर्दै २०६८ सालमा ‘सुभद्रा अधिकारी फाउण्डेशन’ समेत स्थापना गरेकी थिइन् ।

नेपाल चलचित्र कलाकार संघकी उपाध्यक्ष तथा अभिनेत्री रेजिना उप्रेतीले अधिकारीको आजै अन्त्येष्टि गरिने जानकारी दिईन् । उनका १ छोरा र छोरी छन् ।

 


प्रतिक्रिया