संयुक्त सैन्य अभ्यासः ‘सगरमाथा फ्रेण्डसिप’को तेस्रो संस्करण अन्यौलमा

श्रावण ३२, २०७६ | काठमाडौं

नेपाली सेनाले चिनियाँ जनमुक्ति सेनासँग हरेक वर्ष गर्दै आएको संयुत्त सैन्य अभ्यास ‘सगरमाथा फ्रेण्डसिप’को तेस्रो संस्करणमा ढिलाई भएको छ । साउन महिनामा हुने बताईए पनि चिनियाँ पक्षले मिति तय नगर्दा संयुक्त सैन्य अभ्यास अनिश्चित बनेको जंगी अड्डा स्रोतले बतायो ।

सैन्य अभ्यासको मिति तय हुनु अगावै सम्बन्धित देशका सैन्य सहचारीसँग छलफल र समन्वय हुन्छ । तर, यो वर्ष नेपालमा हुने तय भएको ‘सगरमाथा फ्रेण्डसिप’को तेस्रो संस्करणको अभ्यासका लागि छलफल नै भएको छैन ।  

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले भने सैन्य अभ्यासको तयारी भइरहेको बताउनुभयो । चिनियाँ सेनासँग २०७४ साल बैशाखदेखि नेपाली सेनाले संयुक्त सैन्य अभ्यास थालेको थियो । नुवाकोटमा भएको पहिलो सैन्य अभ्यास १० दिनसम्म चलेको थियो भने २०७५ सालमा चीनको सिचुआन प्रान्तमा ‘सगरमाथा फ्रेण्डसीप’को दोस्रो संस्करण असोज १ देखि १२ गतेसम्म चलेको थियो । 

विश्वमा सुरक्षा चुनौतीका रुपमा देखिँदै गएको आतंकवादबाट भविष्यमा आउन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राखी चीनसँग संयुक्त अभ्यास गरिएको दाबी नेपाली सेनाले गर्दै आएको छ । सहायक रथी पाण्डे भन्नुहुन्छ, ‘सैनिक अधिकृतबीच साझा क्षमताको विकास, पारस्परिक क्षमता, एक आपसमा भएका ज्ञानको आदनप्रदानका लागि पनि सैन्य अभ्यास महत्वपूर्ण हुन्छ ।’ चीनसँग हुने सैन्य अभ्यासमा प्रति आतंकवाद, ड्रिल र विभिन्न बाँधापारको विषयमा केन्द्रित छ । 

चीन बाहेक नेपाली सेनाले अन्य विभिन्न मुलुकसँग सैन्य अभ्यास गर्दै आएको छ । भारतसँग दुई हप्तासम्म चल्ने सैन्य अभ्यासको नाम ‘सूर्य किरण’ दिईएको छ । सो अभ्यास २०६७ सालबाट सुरु भएको हो । नेपाली सेनाको जंगल वारफेर शिक्षालयबाट सुरु भएको यो अभ्यास भारतको बरेलीमा सञ्चालन हुन्छ । 


प्रतिक्रिया