स्वर्ग जस्तै पाँच पोखरी (फोटोफिचर)

श्रावण ३२, २०७६ | सिन्धुपाल्चोक

निलम रंगसँगै चम्किएका तालभित्र देखिन्छ चम्किला पहाड पर्वत रंगपुञ्ज आकाश । कञ्चन पारदर्शी पाँच वटा ताल वरीपरी आँखै लोभ्याउने हिमश्रृंखला ढाक्दै लुकिरहेका बादलका श्रृंखला । श्वेत हिउँका राजा जुगलको विभूति जुगल, पाँच पोखरीको शिर लाक्पादोर्जे र हेलम्बुका हृयोल्मो देवता सिमिसिदाङ पाँच पोखरी चियाइरहेका देखिन्छन् । चार हजार दुई सय मिटरको उचाईमा रहेको प्रसिद्ध धार्मिकस्थल पाँच पोखरी पुग्दा यो दुश्य देखेपछि जोकोही रमाउँदै भन्छन्,‘ स्वर्ग छ भने यही नै हो ।’ 

पाँच पोखरी गाउँपालिका वडा ३ भोताङको छिम्ती गाउँ बजारबाट झण्डै दुई दिनको पैदल यात्रा कष्ट सुन्दरतम् पाँच पोखरीको दृश्यले पूरा भुलाइदिन्छ । भिर काट्दै बनाइएको ‘एडभेन्चर’ (२२किलोमिटर) पदमार्गबाट नोस्याम, तप्खर्क, तोरपुली हुँदै लौरी विनायक, भूमेदेवको भिरको कलात्मक द्वारले स्वागत गर्छन् ।

एकादशी र जनैपूर्णिमा लक्ष्य गरेर भव्य मेला लाग्ने पाँच पोखरी धाममा आहिले दर्शनार्थी र विदेशी पर्यटकले ढाकेका छन् । ‘यस पटक मात्रै झण्डै ५ हजार भन्दा बढी पर्यटक पाँच पोखरी भित्रिएको अनुमान गरेका छौं, अधिकाशं अघिपछि भक्तजन आइरहेको देखिन्छन्, पाँचपोखरी थाङपाल गाउँपालिकाका प्रमुख टसी लामा हृयोल्माले भन्नुभयो ।

वाइबा, तामाङ, हृयोल्मो, गुरुङदेखि बाम्हण क्षेत्रीको बसोबास रहेको पाँच पोखरी थाङपालको सम्पूर्ण गाउँ क्षेत्रभर मेलाको लागि भव्य तयारी गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पाँचपोखरी जोड्ने केबुलकारको लागि अध्ययन सकेर प्रक्रियामा छौं, हाल पर्यटकको लागि भौतिक संरचना, उपचारदेखि अन्य प्राविधिक तयारी सकेका छौं ।’

कसरी जाने ?

काठमाडौंबाट मेलम्ची हुँदै पाँच पोखरीको थाङपालधाप, थाङपालकोट हुँदै भोताङको छिम्ती बजारसम्म यात्रुबस सहज छ । सदरमुकाम चौताराबाट रमणीय ओखरेनी, खस्रेबाट लाङटाङ राष्ट्रिय निकुञ्ज हुँदै पैदल मार्ग जान सकिन्छ । भोताङको मनिगाउँ हुँदै छिम्ती बजार पछि २२ किलोमिटर पदमार्ग पैदल पार गर्नुपर्छ । नोस्याम, तप्खर्क, तोरपुली जस्ता दर्जनौ स्थानमा बास र खानपानको लागि व्यवस्था गरिएको पाचपोखरी – ३ का अध्यक्ष निमाछिरिङ लामाले बताउनुभयो । 

यस्तो छ धार्मिक महत्व 

इन्द्रावती नदीको जननी मानिने पाँच पोखरीको पाच वटा कुण्डको नाम समेत फरक रहेको स्कन्ध पुराणको हिमवत खण्डको श्लोकमा ‘पञ्चपोखरी महात्म्यम्’ नामक तीर्थस्थलको उल्लेख पाइन्छ । स्कन्ध पुराणअनुसार त्यहाँ रहेको भैरवकुण्ड, सरस्वती कुण्ड, सूर्य कुण्ड र नाग कुण्ड तीर्थराज प्रयाग र बाडगंगा कुरुक्षेत्र समानको तीर्थस्थल भनिएको छ ।

गुप्त मन्त्रतन्त्र निधि लुकाइएको मानिने हृयोल्मो क्षेत्र हेलम्बु, पाँच पोखरी तिब्बती ग्रन्थ अनुसार तपोभूमि र तन्त्रमन्त्र सिद्धिको रहस्यस्थल मानिएको छ । परमगुरु रेन्पोछे (पदमसंम्भव), महायोगी मिलारेपा, आमा यांग्री देखि अनन्त औतारी लामा गुरुले तपस्या गरेको मानिन्छ । 

 


प्रतिक्रिया