२२ प्रतिशत सर्वसाधारण विद्युतको पहुँच बाहिर 

भाद्र १, २०७६ | काठमाडौं

- मुलुकका २२ प्रतिशत सर्वसाधारण अझै विद्युतको पहुँचबाट बाहिर रहेका छन् ।   विद्युत वितरणको सञ्जाल विस्तार मुख्य चुनौतीको रुपमा रहेकोले पनि मुलुकभर विद्युतको पहुँच स्थापित गर्न नसकिएको स्वयं विद्युत प्राधिकरणले स्वीकार्दै आएको  छ ।  यद्यपी आगामी ३ वर्षभित्र मुलुकभर विद्युत सेवा पुर्‍याउने लक्ष्य सरकारको राखेको छ ।

त्यसका लागि विद्युत वितरण सञ्जार विस्तारलाई योजनाबद्ध रुपले अघि बढाइसकेको प्राधिकरणले जनाएको दाबी छ ।   विविध कारण रुग्ण बनेका ६० मेगावाटको माथिल्लो त्रिशुली थ्रि ए, १४ मेगावाटको कुलेखानी तेश्रो, कावेली करिडोरको १ सय ३२ केभी प्रसारण लाइन  लगायत अन्य ३८ आयोजना सम्पन्न गरेको र यसै वर्षको अन्त्यसम्म, माथिल्लो तामाकोशी, चिलिमे जलविद्युत सहायक कम्पनीहरुबाट समेत विद्युत उत्पादन हुने भएकाले पनि आगामी ३ वर्षभित्र सबैमाझ विद्युतको पहुँच पुर्‍याउन सफल हुने प्राधिकरणको दाबी छ ।

यस्तै नेपाल र भारतबीच अन्तरदेशिय प्रसारण लाइन निर्माण गर्ने, सरकार र दातृ निकायको सहयोगमा पूर्व–पश्चिम र उत्तर– दक्षिणका चार सय र दुई सय २० केभी प्रशारण सञ्जालको निर्माण सम्पन्न गर्ने तथा बुटवल– गोरखपुर दोश्रो चार सय केभी अन्तरदेशिय प्रशारण लाइन निर्माणको मोडेल टुंगो लगाई आगामी ४ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य प्राधिकरणको छ ।

यसैबीच नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७५ र ७६ मा ७ अर्ब २० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष ०७४ र ७५ मा २ अर्ब ९० करोड रुपैयाँ खुद नाफा कमाएको प्राधिकरणले यसलाई ४ अर्ब ३० करोड अर्थात १४९ प्रतिशतले बढाएर ७ अर्ब २० करोड रुपैयाँ पुर्याएको हो ।


यसैबीच प्राधिकरणको ३४ औं वार्षिकोत्सव आज विविध कार्यक्रम गरी मनाइँदैछ । 


प्रतिक्रिया