निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ७ देशका ८ कम्पनीको प्रस्ताव

भाद्र २, २०७६ | काठमाडौं

बाराको निजगढमा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ७ देशका ८ कम्पनीले प्रस्ताव गरेका छन् । झण्डै साढे ३ खर्ब रुपैयाँको सो आयोजनाका लागि चीन, भारत, कतार, फिनल्याण्ड , स्वीटजरल्याण्ड, मलेसिया र स्वदेशी कम्पनी समेतले प्रस्ताव दर्ता गराएको लगानी बोर्डले जनाएको छ ।

राष्ट्रिय प्राथमिकता प्राप्त सो आयोजनालाई काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलको भार कम गर्ने उद्देश्यले निर्माणको योजना बनाइएको हो । तीन चरणमा बनाइने विमानस्थलका लागि एक नेपाली कम्पनीले पब्लिक प्राईभेट साझेदारी मोडेलमा निर्माणको प्रस्ताव गरेको छ । कतार सरकारले समेत नेपाल सरकार समक्ष सरकारी स्तरमा नै विमानस्थल निर्माणका लागि प्रस्ताव गरेको छ । कुनै पनि मोडालिटीमा विमानस्थल निर्माणका लागि बोर्ड खुला रहेको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महप्रसाद अधिकारीले बताउनुभयो ।

 
मलेसिया सरकारले समेत पूर्ण लगानीसहित विमानस्थल निर्माणको सन् २०१६ देखि चासो देखाएको छ । भारतको सीमा नजिक पर्ने अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भारत सरकारको समेत चासो छ । 
प्रधानमन्त्री केपी ओली अध्यक्ष रहेको बोर्डको आगामी बैठकले ठेक्का प्रक्रिया शुरु गर्ने प्रमुख कार्यकारी अधिकृत अधिकारीले बताउनुभयो । छनोटपछि विस्तृत प्रस्तावनाको माग गर्ने प्रक्रिया सुरु हुनेछ । आर्थिक मोडालिटी र वातावरणीय प्रभावबारे भने मन्त्रिपरिषदले निर्णय गर्ने लगानी बोर्डले उल्लेख गरेको छ ।
 


प्रतिक्रिया