ओलीजी समझदारी अनुसार चल्नुपर्छ : अध्यक्ष दाहाल

भाद्र २, २०७६ | जनकपुर

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समझदारी’ अनुसार चल्नुपर्ने बताउनु भएको छ । वर्तमान सरकार ५ वर्ष सम्म रहने भन्दै प्रधानमन्त्रीे आफूसँग भएका समझदारी अनुसार चल्नु पर्ने बताउनुभयो । 

‘नेकपाको सरकार ५ वर्षसम्म रहन्छ । यसमा कुनै दुविधा नै छैन,’ सोमबार जनकपुर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा नेकपाका अध्यक्ष दाहालले भन्नुभयो, ‘सरकार पनि ५ वर्ष जान्छ । ओलीजी पनि सम्झदारी अनुसार चल्नु हुन्छ ।’ धनुषाको बरमझियामा शहिद रामवृक्ष यादवको स्मृति सभामा सहभागी हुन अध्यक्ष दाहाल नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसहित जनकपुर पुगेका हुन् ।  

‘सरकारको पहिलो कानूनी जटिलता थियो । छिट–छिटो विकास होस भन्ने जनताको चाहना थियो,’ दाहालले भन्नुभयो, ‘सरकारले पहिलो वर्ष यी सबै आधार बनाएको छ । अब सरकार अगाडि बढ्छ ।’ 

पूर्व प्रधानमन्त्री समेत रहेका दाहालले समृद्ध नेपाल खुशी नेपालीको अभियानलाई सरकारले अगाडि बढाउने बताउनुभयो । ‘पार्टी एकतामा धेरै भ्रम छर्न खोजियो । तर, हामी पार्टी एकता टुंग्यिाएका छौं,’ दाहालले भन्नुभयो, ‘नेकपा देशव्यापी कार्यक्रम लिएर आउँदैछ ।’

‘पार्टी एकता नगरे भए हुन्थ्यो’ भनाईको अपव्याख्या गरिएको बताउँदै नेकपाका अध्यक्ष दाहालले भन्नुभयो, ‘मैले त्यसो भनेकै होइन । पार्टी एकता गरिसकेका हौं । अब विकल्प छैन भनेको हो । मिडियामा अपब्याख्या गरियो ।’ आफूले बोलेको त्यो कार्यक्रममा पार्टीका महासचिव विष्णु पौडेल पनि उपस्थित रहेको र मिडियामा अपब्याख्या भएर आउँदा पौडेल पनि आश्चर्यमा परेको दाहालले सुनाउनुभयो । 

‘पार्टी एकता गर्नु गल्ती भयो भनेर प्रचार गरियो । जुन गलत हो,’ दाहालले भन्नुभयो, ‘पूर्व माओवादी, पूर्व एमाले भनेर माथापच्ची गर्नुको अब अर्थ छैन ।’ दाहाल पत्नी सीता हित जनकपुर पुगेका हुन् । 

पहिला झलनाथ, अब मलाई अपमानित गर्‍यो : नेपाल

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको मर्यादाक्रममा आफूलाई अपमानित गर्ने काम भएको आरोप लगाउनु भएको छ । पहिला झलनाथ खनाललाई र अब आफूलाई अपमानित गर्ने काम भएको भन्दै उहाँले असन्तुष्टि जनाउनुभयो । नेता नेपालले नेकपाका अध्यक्ष दाहालकै सामुन्नेमा आफ्नो मर्यादाक्रमलाई लिएर असन्तुष्टि जनाउनुभयो । 

‘पार्टीमा भएको गल्तीका कारण मलाई अपमानित गर्ने कोसिस भएको छ,’ विमानस्थलमा पत्रकारसँग नेता नेपालले भने, ‘पूर्व एमालेको विधान बमोजिम झलनाथ खनाललाई पहिलो चरणमा अपमानित गरियो । दोश्रो चरणमा मलाई पनि अपमानित गर्ने कोसिस भएको छ । राजनीतिमा गल्ती गर्नु हुँदैन । गल्तीहरु भएका छन् ।’

उहाँले पार्टीको मर्यादाक्रम सच्चयाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेकपाको सचिवालयमा वरिष्ठ व्यक्तिहरु परेका छैनन् । कनिष्ठहरु परेका छन् । उप महासचिवस्तरको व्यक्तिहरु समेत छुटेका छन् ।’ 


प्रतिक्रिया