हामी क्षेत्रीय शान्तिका पक्षमा छौं : मन्त्री ज्ञवाली

रेडियो कान्तिपुर संवाददाता

भाद्र २, २०७६ | काठमाडौं

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले कश्मिर मामलालाई सरकारले नजिकबाट नियालिरहेको बताउनुभएको छ । भारतीय विदेश मन्त्री एस जयशंकरको आसन्न नेपाल भ्रमणबारे जानकारी दिन परराष्ट्र मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले क्षेत्रीय रुपमा तथा छिमेकमा समेत शान्ति र स्थिरताका पक्षमा नेपाल उभिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सार्क संगठनका अध्यक्षका रुपमा पनि नेपालले राखेको धारणा एउटै छ, हामी क्षेत्रीय शान्तिका पक्षमा छौं ।’ 

गत साता नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले संसदको अन्तर्राष्ट्रिय समितिमा ‘हिन्दूस्तानले सक्ने हो भने नेपाललाई सिक्किम बनाउथ्यो’ भनी राखेको भनाइको खण्डन गर्दै परराष्ट्र मन्त्री ज्ञवालीले ‘यो आफैंमा अस्वीकार्य वक्तव्य’ भएको प्रतिक्रिया दिनुभयो । 

उहाँले भन्नुभयो, ‘एउटा गम्भीर राजनीतिक नेताले यति हल्का रुपमा उठाउनुभएको भन्ने नै अपत्यारिलो छ, यस्ता भनाइले दुई देशबीच चिसोपन बढाउन सक्छ, यसरी नेपालको स्वतन्त्र अस्तित्व समाप्त हुन्छ भन्ने कुरा कल्पनाभन्दा बाहिर छ ।’

नेपाल भारत मन्क्रीस्तरीय संयुत्त बैठकमा भाग लिन जयशंकर भदौ ४ गते १ दिनका लागि नेपाल आउँदै हुनुहुन्छ । 


प्रतिक्रिया