विपत रोक्न भारतसँग कडा रुपमै प्रस्तुत हुनुपर्छ : अध्यक्ष दाहाल

भाद्र ३, २०७६ | धनुषा

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले तराई–मधेसको डुबान रोक्न भारत सरकारसँग प्रष्ट रुपमा समझदारी गर्नुपर्ने बताउनु भएको छ । भारत तर्फबाट सीमा क्षेत्रमा बन्ने सडक र बाँधले नेपाली भू–भाग डुबानमा पर्ने गरेको भन्दै उहाँले भारतसँग दरो रुपमै प्रस्तुत हुनुपर्ने बताउनु भएको हो । 

उहाँले भन्नुभयो, ‘बाढीले नेपाल मात्रै नभएर भारत समेत समस्यामा छ । यो समस्या दुई देशको केन्द्रबाटै समधान गर्नुपर्छ ।’ प्रदेश २ का डुबानबाट प्रभावित क्षेत्रका पीडितको लागि विशेष प्याकेज ल्याउने तयारी भइरहेको उहाँले बताउनुभयो । 

जिल्ला विपत व्यवस्थापन समितिको मंगलबारको बैठकमा नेकपा अध्यक्ष दाहालले प्रदेश २ को बाढी, डुबान, खडेरी, आगलागी लगायतको सवालमा सरकारले दीर्घकालिन समाधान खोज्ने बताउनुभयो । विपत आउँदा हेरक वर्ष उद्धार र राहतको गोलचक्र सुरु हुन्छ, दाहालले भन्नुभयो, ‘यो परम्परा चक्रभ्यु जस्तै भएको छ । तर, विपदाको चुरो कुरा र दीर्घकालिन समाधान बारे बहस आवश्यक छ ।’

परिवर्तनका लागि सबैभन्दा बढी संघर्ष गरेको प्रदेश २ मा अन्न भण्डारको संरक्षण गर्न सरकार छलफलमा जुटेको उहाँले बताउनुभयो । नदी नियन्त्रण गर्न मन खोलेर लाग्नु पर्छ, दाहालले भन्नुभयो, ‘नदीमा दीर्घकालिन समाधानका लागि बाँध बाध्नु पर्छ । आगलागीको समस्या समधान गर्न जनता आवास कार्यक्रम अन्तर्गत पक्की घर आवश्यक छ ।’

प्रदेश २ को भएको विपत बारे पार्टी र केन्द्र सरकाराको ध्यान केन्द्रित भएकोले चाँडै विपतको मध्यकालिन र दीर्घकालिन समाधान खोजीने अध्यक्ष दाहलाले बताउनुभयो । तराईको विपत समाधानका लागि चुरे संरक्षणमा दाहालले जोड दिनुभयो । बाढी, आगलागी र सीमा समस्याको दीर्घकालीन समाधान खोज्नुपर्ने भन्दै उहाँले भन्नुभयो, ‘जबसम्म मास्टर प्लान सहित चुरे संरक्षण हुँदैन, तबसम्म तराईको मरुभूमिकरणको स्थायी समाधान छैन ।’ पानीको समस्या समाधान गर्न जलाशय निर्माण गरेर जलाधार बनाउनुपर्ने, बाढी रोक्न सबै खोलानालामा जनता तटबन्ध योजना ल्याउनुपर्ने उहाँले बताउनुभयो । 

पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष दाहालले जनता आवास कार्यक्रम ल्याएर झुपडीहरु हटाएर साना भएपनि पक्की घरमा रुपान्तरण गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले तराईको डुबान रोक्न भारतसँग समन्वय गर्नु पर्नेमा जोड दिनुभयो । प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले डुबान पीडितलाई तत्काल उद्धार र राहत वितरण गरी सहयोग गरेको जानकारी दिनुभयो । विपदको प्रमुख कारण चुरे दोहन भएकाले यसको संरक्षण आवश्यक रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले चुरीया क्षेत्रमा सरकारले बस्ती बसाउन जग्गा दिने कुरा सुन्नमा आएको छ । मदन भण्डारी मार्ग पनि निमार्ण हुने सुनेको छु । यस्तो हुने हो भने मधेशको विनास हुन्छ ।’ 

भ्रष्टाचारको विषयमा टकराव

नेकपा अध्यक्ष दाहाल, तत्कालीन माओवादीका नेता रामवृक्ष यादवको सम्झनामा सोमबार धनुषामा आयोजित कार्यक्रममा प्रदेशमा भ्रष्टाचार बढेको, जनताले दुःख पाएको विषयमा प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्क्री ज्ञानेन्द्र यादवले सार्वजनिक कार्यत्रममै दाहाललाई जवाफ फर्काएका छन् । 

मंगलबार जिल्ला विपद व्यवस्थापन समिति धनुषाले आयोजना गरेको कार्यक्रममा दाहाललाई मन्त्री यादवले सिंगो मुलुक नै भ्रष्टाचारको दलदलमा फसेको आरोप लगाउनुभयो । प्रदेश दुईमा भ्रष्टाचार मौलायो भन्ने अभिव्यक्ति गलत छ, मन्त्री यादवले भन्नुभयो, ‘नेपालभरि नै भ्रष्टाचारले प्रश्रय पाएको छ । ३३ क्विन्टल सुनकाण्ड नेपालमै भएको छ । प्रधानमन्क्रीको कार्यालयको जग्गा नै बित्रीमा सत्ताधारी पार्टीकै महासचिव मुछिएका छन् ।’ 

मन्त्री यादवलेको अभिव्यक्ति लगतै नेकपा अध्यक्ष दाहालले समग्रमा मुलुकमा सुशासन, भ्रष्टाचार नियन्त्रण चुनौती भएको बेला प्रदेश २ मा भ्रष्टाचार मौलाएको बताउनुभयो । आन्दोलन र संघर्ष गर्दा जनताले सुशासन र भ्रष्टाचार मुक्त सरकारको माग गरेको थियो, दाहालले भन्नुभयो, ‘संघर्ष गर्दा यस्तै शासन खोजेको थियो त ? सुशासन र भ्रष्टाचारका लागि प्रभावकारी बनाउन पहल आवश्यक छ ।’


प्रतिक्रिया