पानी बोतलको एक सय, चाउचाउको ७५  

रेडियो कान्तिपुर संवाददाता

भाद्र ३, २०७६ | नवलपरासी

पूर्व पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको आरुणखोलामा पुल भत्किएपछि बनाइएको डाइभर्सन सडकको यातायात एकतर्फी सञ्चालनमा आएको छ । खोलमा पानीको सतह घटेपछि यातायात एकतर्फी खुलेको हो । सडक सञ्चालनमा आएपनि यात्रु भने थप समस्यामा परेका छन् ।

सडक अवरुद्ध भएको फाइदा उठाउँदै स्थानीयले एक बोत्तल बोतलको एक सय रुपैयाँ सम्म असूल्ने गरेका छन् । चाउचाउको ७५ र बिक्कुटको ५० रुपैयाँ सम्ममा बिक्री गर्ने गरेका छन् । आरुणखोलाको पूर्व र पश्चिम दुबैतिर गाडीको लाइन लागेको  छ । महेन्द्रराजमार्ग  सडकको दुबैतर्फ बाक्लो जंगल छ । एकतर्फी सडक खुल्दापनि ४ घण्टा सम्म लामो जाम पर्ने गरेको छ । यात्रु चर्को शुल्क तिरेर खाख् वस्तु खरिद गर्न बाध्य छन् ।

बजार नभएका कारण स्थानीयले जंगलमा जाममा परेकाहरुबाट चर्को शुल्क असूल्ने गरेका कारण यात्रु समस्यामा परेका छन् । बजार छैन, पानीको एक सय तिरे झापा दमकबाट नेपालगञ्ज हिँडेका बिक्रम पराजुली भन्छन, ‘यस्तो चरम मूल्य वृद्धि गर्दापनि कसैको चासो छैन ।’ उनले जंगलमा सबैलाई हतार भएको र खाने वा किन्ने पसल नभएका कारण यात्रु पनि चर्को शुल्क तिर्न बाध्य भएको सुनाए । 

पूर्व मेची र पश्चिम महाकाली पुग्न त्यहाबाट बराबर दुरी पर्दछ । करीब ५ सय किलोमिटर । दुबै तर्फका यात्रुको चाप पनि सडकमा उत्तिकै छ । घण्टौंको जाम र नजिकमा पसल नभएकाले आफूहरु चर्को शुल्क तिर्न बाध्य भएको मकवानपुरकी अजिता तमांगले गुनासो गरिन् । पानी छैन, छाहारी छैन, चर्को घाममा बस भित्र बस्दा निकै सकस हुने गरेको र मनलाग्दो मूल्य तिर्न बाध्य भएको उनको भनाई छ । 

उवासंघले थाल्यो समान बेच्न 

यता, चोरमारामा रहेको उद्योग वाणिज्य संघले याक्रुको सहजताको लागि सहुलियत दरमा खाद्य वस्तु बित्री सुरु गरेको छ । यात्रुले चर्को मूल्यमा खाद्य वस्तु खरिद गर्न बाध्य भएको जानकारी पाएपछि चाउचाउ, बिस्कुट, पानी र चकलेट लागायतका खाद्य वस्तुको बिक्री सुरु गरेको हो । सोमबारबाट यात्रुको सहजताको लागि उद्योग वाणिज्य संघ मध्यबिन्दु नगरपालिकाको कार्यलयले सुपथ मूल्यमा खाद्य वस्तु बिक्री सुरु गरेको उवासंघका अध्यक्ष केदार पराजुलीले बताउनुभयो । 

छैन अनुगमन 

बजार अनुगमनको जिम्मेवारी हेर्ने जिल्ला प्रशासन कार्यलय भने हजारौ यात्रुले जंगलबीचको राजमार्गमा एकसातादेखि चर्को मूल्यमा पानी खरिद गर्न बाध्य हुँदा समेत बेखबर छ ।     पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी विष्णु बहादुर कार्कीले बढी मूल्यमा खाद्य वस्तु बिक्री गरिएको भन्ने जानकारी नै आफूलाई नभएको बताउनुभयो । उहाँले अहिल्यै अनुगमन थालेर बढी मूल्य नलिने ब्यवस्था मिलाउने आश्वासन दिनुभयो । 

एक तर्फी खुलेपनि घण्टौंजाम, सास्ती उस्तै 

पूर्वी नवलपरासीस्थित महेन्द्रराजमार्गको अरुणखोला पुल भाचिएका कारण बनाइएको डाइभर्सन सडकमा उर्लेर आएको बाढीले रोकिएको यातायात एकतर्फी खुलेको छ । खोलमा पानीको सतह घटेपछि यातायात एकतर्फी खुलाइएको हो । डाइभर्सन गरी बनाएको कच्ची सडक भन्दा माथिबाट पानीको भेल बगेका कारण सोमबार दिनभर यातायात सेवा अवरुद्ध भएको हो । दोहोरो सडक नखुल्दा सम्म लामो जाम सडकमा देखिएको छ ।

मुलुककै लाइफलाइन सडक भएका कारण पूर्व–पश्चिम हिँडने सबै गाडी महेन्द्रराजमार्ग हुँदै आउजाउ गर्ने गरेका कारण राजमार्गमा सवारी चाप अत्यधिक हुने गरेको छ । सडक डिभिजन कार्यालयले २ वटा डोजर लगाएर दोहोरो आवगमन हुने गरी कच्ची डाइभर्सन सडक बनाउँदै गरेको छ । डिभिजन सडक कार्यालय बुटवलले पानी रोकिएका कारण मंगलबार साँझ सम्म दोहोरो यातायात सञ्चालन हुने गरी काम भईरहेको जनाएको छ । वर्षात हुनासाथ खोलामा पानीको बहाव बढ्ने भएकाले यातायात सेवा बन्द हुने र पानी घटेपछि पुनः यातायात सञ्चालनका लागि प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

एक साता अघि अरुणखोला पुलमा गाडी ठोक्किएका कारण पुल भाचिएपछि वैकल्पिक सडक बनाएर आवगमन खुलाइएको थियो । हयूमपाइप राखेर बनाएको कच्ची डाइभर्सन बगाएका   कारण राजमार्ग अवरुद्ध हुँदा पूर्व पश्चिम हिँडेका हजारौं यात्रु अलपत्र पर्ने परेका छन् । भाचिएको पुलमा टेका लगाएर माथि उठाउने र सोझयाउने काम पनि भईरहेको छ । सडक डिभिजन कार्यालय बुटवलका प्रमुख मेघराज मराशिनीले दुई हप्ताभित्र पुलबाटै गाडी चलाउने गरी काम भई रहेको जानकारी दिनुभयो । पुलको भाग माथि उचालेर सोझ्याउने र केही नयाँ सापो राखेर पुल सोझयाउने काम भईरहेको जानकारी दिंदै आगामी १५ गते सम्म पुलबाटै सावरीसाधन चल्न सक्ने गरी काम भईरहेको बताउनुभयो । 


प्रतिक्रिया