अष्ट्रेलियामा आन्दोलनको पक्ष र विपक्षमा प्रदर्शन

भाद्र ३, २०७६ | अष्ट्रेलिया

हङ्गकङ्गमा जारी आन्दोलनले ११ साता नाघिसक्दा यसको असर ठूलो संख्यामा चिनियाँ नागरिकहरु बसोबास गरिरहेको अष्ट्रेलियामा समेत देखिएको छ । अष्ट्रेलियाका विभिन्न शहरहरुमा हङ्गकङ्गमा भइरहेको आन्दोलनको समर्थन र विरोधमा प्रदर्शनहरु भएका छन् । 

अष्ट्रेलियाको सिड्नी, मेलबर्न ब्रिसबन एडिलेडमा हङ्गकङ्गमा जारी आन्दोलनलाई समर्थन र विरोध गर्दै विभिन्न प्रदर्शनहरु गरिएको छ । सयौंको संख्यामा रहेका प्रदर्शनकारीहरुले हङ्गकङ्गमा भइरहेको प्रहरी दमन बन्द गर्नुपर्ने माग गरेका थिए । उनीहरुले प्रजातन्त्रको पक्षमा समेत वकालात गरेका थिए ।

हङ्गकङ्गमा लामो समयदेखि जारी रहेको आन्दोलनलाई समर्थन गर्दै प्रदर्शनकारीहरुले शान्तिपूर्वक समाधानका लागि अष्ट्रेलिया लगायतका देशहरुलाई सहयोग गर्न समेत आग्रह गरेका थिए । मुख छोपेर शान्तिपूर्वक प्रदशर्नमा आएका उनीहरुले हङ्गकङ्गमा समेत अष्ट्रेलियामा जस्तै स्वतन्त्रता र प्रजातन्त्रको अनुभूति गर्न पाउनुपर्ने समेत बताएका थिए । 

एकातिर हङ्गकङ्गमा भइरहेको आन्दोलनको समर्थनमा सयौं प्रदर्शनकारीहरुले शान्तिपूर्वक कार्यक्रम गरिरहन्दा चीन समर्थित प्रदर्शनकारीहरुले समेत प्रदशर्न गरेका छन् । प्रदर्शनमा सहभागीहरुले हङ्गकङ्गलाई माया नगर्नेले हङ्गकङ्ग छाड्नुपर्ने, चीनलाई माया नगर्नेलाई समेत उनीहरुले छोडेर जान आग्रह गरेका थिए । प्रदर्शनमा अष्ट्रेलियामा अध्ययनरत चिनियाँ विद्यार्थीहरु, दोस्रो तथा तेस्रो पुस्ताका चिनियाँ मुलका नागरिकहरुका साथै भर्खरै आएका आप्रवासीहरु समेत सहभागी रहेको त्यहाँस्थित सञ्चारमाध्यमहरुले जनाएका छन् ।

कार्यक्रमको आयोजना गरेका एक युवाले आफ्नो कार्यक्रमको मुख्य उद्देश्य हङ्गकङ्गमा के भइरहेको छ र यसको सत्यता के हो भनेर जानकार गराउन भएको सुनाए । उनले आफूहरुको उद्देश्य शान्तिलाई प्रोत्साहन दिनु र भेदभाव अन्त्य गर्नु रहेको बताए । 

प्रदर्शनका क्रममा कुनै दुर्घटना हुने आशंकाका साथ अष्ट्रेलियाली प्रहरी परिचालन गरिएको भएपनि अधिकांश प्रदर्शन शान्तिपूर्ण भएको जनाइएको छ । तरपनि, केही स्थानहरुमा पक्ष र विपक्षका प्रदर्शनकारीहरुबीच सामान्य झडप भएको जनाइएको छ । यसैबीच, अष्ट्रेलियाका लागि चीनका राजदूत चेङ्ग जिङ्गयेले एक विज्ञप्ति जारी गर्दै अहिले हङ्गकङ्गमा भइरहेको प्रदर्शनहरु आन्तरिक मामिला भएको बताउँदै अन्तर्राष्ट्रिय समुदायलाई प्रदर्शनकारीहरुलाई सहयोग नगर्न वा हस्तक्षेप नगर्न चेतावनी दिएको एबीसीले जनाएको छ । उनले हङ्गकङ्गमा भइरहेको आन्दोलन हिंसात्मक र गैरकानूनी भएको दाबी गर्दै एक देश दुई सिस्टम अनुसार हुने समेत बताएका छन् । 


प्रतिक्रिया