एकीकरण प्रक्रियामा वरिष्ठ नेता नेपालको असन्तुष्टै–असन्तुष्टी

भाद्र ३, २०७६ | काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी नेकपा विधि, पद्यति, मापदण्ड र कमिटी प्रणालीका आधारमा सञ्चालन नभएको भन्दै वरिष्ठ नेता माधवकुमार नेपालले असन्तुष्टि व्यक्त गर्नुभएको छ । तात्कालीन एमाले र माओवादी केन्द्रबीचको एकीककरण प्रक्रिया टुंगिएको दाबी शीर्ष नेताहरुले गरिरहेका समय नेता नेपालले एकीकरण प्रक्रियामा खोट लगाउँदै सच्याएर अघि बढ्न नेतृत्वको ध्यानाकर्षण गराउनुभएको छ । 

गत शुक्रबार बसेको सचिवालय बैठकले अध्यक्षपछिको वरियता खोसेपछि असन्तुष्ट बनेका नेता नेपालले आज ७ बुँदे असहमति पत्र सचिवालयमा दर्ता गराउँदै नेताहरुको जिम्मेवारी बाँडफाँट, विभिन्न कमिटीमा ईन्चार्ज र सहईन्चार्ज नियुक्ती, सरकार सञ्चालन लगायतमा गम्भीर असहमति जनाउनु भएको हो ।

पार्टीले एक व्यक्ति एक पदको नीति अवलम्बन गरेपनि व्यवहारमा लागू नभएको भन्दै नेता नेपालले जिम्मेवारी र अवसरको वितरण निश्चित मापदण्ड र पारदर्शीका आधारमा नभएको दाबी गर्नुभएको छ । ऐतिहासिक एकता प्रक्रियालाई गुटगत स्वार्थका कारण अनावश्यक रुपमा लम्ब्याएर अध्यक्षद्वयले कार्यकर्तामा देखिएको उत्साहको तेजोवध गरेको नेता नेपालको आरोप छ ।

असहमति पत्रमा नेता नेपालले भन्नुभएको छ, अमुक व्यक्ति छनोटको गलत चाहाना राखी एकता प्रक्रिया नै पार्टीलाई क्षति पुग्ने गरी लम्ब्याईएको छ । 

कार्यकारी जिम्मेवारीमा रहेका व्यक्तिलाई दोहोरो जिम्मेवारी दिनुले पार्टी अध्यक्ष स्वेच्छाचारी ढंगले अघि बढेको प्रष्ट भएको दाबी गर्दै नेता नेपालले एक व्यक्ति एक प्रमुख जिम्मेवारीको वैधानिक व्यवस्थालाई अध्यक्षदेखि सवै व्यक्तिमा लागू गर्न माग गर्नुभएको छ । विभाग, जनवर्गीय संगठन, विशेष कमिटी, प्रदेश, जिल्ला सवैमा जिम्मेवारी बाँडफाँटमा असहमति जनाउँदै नेता नेपालले पुराना र वरिष्ठ नेताहरुलाई पाखा लगाउँदै पार्टी नीति समेत नबुझेका नेताहरुलाई ईन्चार्ज र सह–ईन्चार्जको जिम्मेवारी दिनु दुखद भएको टिप्पणी गर्नुभएको छ ।

पार्टी एकीकरणका समय वरिष्ठ नेता झलनाथ खनालको अपमान गरेको र वरियाताक्रम घटाएर अहिले आफूलाई अपमानित गरेको प्रशंग दोहोर्‍याउँदै नेता नेपालले असहमति पत्रमा वरियाताको विषय पार्टीका सबै तहमा लागू गर्न माग गर्नुभएको छ । 

सरकार सञ्चालनप्रति गम्भीर असहमति जनाउँदै उहाँले लोकप्रियता गुमाउँदै गएको सरकारका कारण पार्टीलाई समेत क्षति पुग्ने दाबी गर्नुभएको छ । पार्टीको नीति, निर्णय र योजनाअनुसार सरकार सञ्चालन हुन नसकेको उल्लेख गर्दै नेता नेपालले जसका कारण सरकार र पार्टी प्रति जनतामा नकारात्मक धारणा बढ्दै गएको बताउनुभएको छ ।  


प्रतिक्रिया