किर्गिस्तानसँग नेपाल ३–० ले पराजित

रेडियो कान्तिपुर संवाददाता

भाद्र ३, २०७६ | ललितपुर

एभीसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपको शुरुआत नेपालले हारबाट गरेको छ । समूह ए को उद्घाटन खेलमा घरेलु टोली नेपाल किर्गिस्तानसँग पराजित भयो । बलियो टोली किर्गिस्तानलाई नेपालले ३–० नतिजा सुम्पियो । 

ललितपुरको लगनखेलस्थित नेपाली सेनाको कभर्डहलमा भएको खेलमा नेपालले पहिलो सेट प्रतिस्पर्धात्मक २५–२३ को अंकमा गुमायो । पहिलो सेटमा नेपालले पाएको अग्रता खेर फालेको थियो । 

दोस्रो र तेस्रो सेटमा नेपालले कुनै पनि समय अग्रता लिन सकेन । किर्गिस्तानको गल्तीमा अंक बटुलेको नेपालले २५–२२ को समान स्कोरमा दोस्रो र तेस्रो सेट पनि गुमायो । 

खेलपछि नेपाली टोलीका प्रशिक्षक हान एबिङले किर्गिस्तानसँग प्रतिस्पर्धात्मक खेल खेल्नु नै उपलब्धिमुलक भएको प्रतिक्रिया दिए । ब्लकिङमा समस्या देखिएको र आगामी म्याचमा त्यसमा सुधार गर्ने उनले सुनाए । किर्गिस्तानको टोली शारीरिक र प्राविधिक दुबै हिसाबले बलियो भएको प्रशिक्षक एबिङको भनाइ थियो । 

समूह ‘ए’ मा रहेको नेपालले अब बाँकी एक खेल जिते पनि सेमिफाइनल पुग्न सक्छ ।  समूहमा तीन टोलीमात्रै रहेकाले पर्सि बुधबार माल्दिभ्सलाई पराजित गरे नेपालको सेमिफाइनल यात्रा सुरक्षित हुनेछ ।  

समूह बी मा तुर्कमेनिस्तानले विजयी शुरुआत गरेको छ । उसले आज अफगानिस्तानलाई ३–१ को सेटमा पाखा लगायो ।

पहिलो सेट ३२–३० ले जितेको तुर्कमेनिस्तानले दोस्रो अफगानिस्तानलाई १६–२५ ले सुम्पिएको थियो । तेस्रो सेटमा २७–२५ ले कमब्याक गरेको तुर्कमेनिस्तानले चौंथो सेट २६–२४ ले जित्यो । समूह बी मा अहिले बंगलादेश र उज्बेकिस्तानबीच प्रतिस्पर्धा भैरहेको छ । खेलमा उज्वेकिस्तानले २–० को अग्रता बनाएको छ । 


प्रतिक्रिया