नेपाल–भारत संयुक्त आयोग बैठक : काठमाडौंमा आज सुरु हुँदै

रेडियो कान्तिपुर संवाददाता

भाद्र ४, २०७६ | काठमाडौं

- नेपाल भारत  परराष्ट्र मन्त्रीस्तरिय संयुक्त आयोगको पाँचौ बैठक काठमाडौंमा आज सुरु हुँदैछ । बैठकमा नेपाली पक्षको नेतृत्व परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र भारतीय पक्षको नेतृत्व समकक्षी सुव्रमण्यम जयशंकरले गर्दै हुनुहुन्छ ।  राजधानीको एक होटलमा अपरान्ह शुरु हुने बैठकमा भारतले सिमापार सुरक्षा र आफनो लगानीमा सञ्चालित परियोजना कार्यान्वयनको विषयलाई उठाउने तयारी गरेको छ ।

जम्मु कश्मिरको विशेषाधिकार खारेज गर्ने भारत सरकारको निर्णय पछि विकसित भु राजनितिक परिस्थितिका कारण पनि बैठकलाई विशेष चासोका साथ हेरिएको छ । खुला सीमामार्फत हुन सक्ने नक्कली मुद्रा लगायत अवैध कारोबार रोक्न अपनाउनुपर्ने सुरक्षा व्यवस्थाका सम्बन्धमा पनि भारतीय पक्षले छलफल गर्ने सम्भावना रहेको दिल्ली सहकर्मी सुरेशराज न्यौपानेले जनाएका छन् । 

बैठकमा नेपालले भारतीय लगानीमा बन्न लागेको पञ्चेश्वर बुहुद्देश्यीय परियोजना र माथिल्लो कर्णालीमा अल्झेको मुद्दालाई प्राथमिकतामा राखेको छ । २०५३ सालमा भएको महाकाली सन्धि अन्तर्गत प्रस्तावित पञ्चेश्वर बहुद्देश्यीय परियोजना पानी बाँडफाँडमा कुरा मिल्न नसकेपछि अल्झिएको छ । बैठकमा ९ सय मेगावाट क्षमताको माथिल्लो कर्णालीका सम्बन्धमा भइरहेको ढिलाइलाई पनि महत्वका साथ उठाउने नेपाली पक्षको तयारी छ ।

४ सय केभिए क्षमताको बुटवल– गोरखपुरको अन्तर्राष्ट्रिय प्रसारणलाइन निर्माणको मोडालिटिमा समेत सकारात्मक समझदारी हुने नेपाली पक्षको अपेक्षा छ । भारतको कोलकत्ता देखि साहिबगन्ज, पटना र बनारस सम्मको गंगा जलमार्ग  खुला गर्ने कार्यलाई तीव्रता दिन समेत नेपाली पक्षले आग्रह गर्ने भएको छ । यस्तै बैठकमा इपिजी प्रतिवेदन बुझाउन भइरहेको ढिलाई तथा भारतीय नोटबन्दी पछि नेपालमा थन्किएका करौडौँ रुपैयाँ भारतीय नोटबारे समेत छलफल हुने परराष्ट्र अधिकारीहरुले बताएका छन् । 

छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता

नेपाल भ्रमणका क्रममा भारतीय विदेशमन्त्री सुव्रमण्यम जय शंकरले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुहुने भएको छ । दुईदेशीय संयुक्त आयोगको बैठकमा भागलिन आउन लागेका जय शंकरले प्रधानमन्त्री ओलीसंग आज र राष्ट्रपति भण्डारीसंग भोली शिष्टाचार भेटवार्ता गर्न लाग्नुभएको हो ।

जयशंकर मध्यन्ह १२ वजे अन्तर्राष्ट्रिय विमानस्थल आउँदै हुनुहुन्छ । राष्ट्रपति र प्रधानमन्त्रीसंग हुने छुट्टाछुट्टै भेटवार्तामा दुई पक्षीय सम्वन्धमा विभिन्न आयमबारे छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । 


प्रतिक्रिया