नेकपाको सचिवालय बैठकमा सात बुँदे नोट अफ डिसेन्टबारे छलफल हुँदै

रेडियो कान्तिपुर संवाददाता

भाद्र ४, २०७६ | काठमाडौं

- सत्तारुढ नेकपाको सचिवालय बैठकमा आज वरिष्ठ नेता माधव कुमार नेपालले राखेको सात बुँदे नोट अफ डिसेन्टबारे छलफल हुँदैछ । पार्टी एकताका समग्र विषय टुंग्याउन भन्दै सचिवालय बैठक डाकिएपनि नेता नेपालले बैठकको सुरुवातमै आफ्नो असहमतिबारे कुरा उठाउन लाग्नुभएको हो ।

आफुलाई चौथो वरियतामा राखिएपछि चिढिएका नेता नेपालले सचिवालय बैठकमार्फत आफ्नो माग सम्बोधन गर्न दबाव दिन लाग्नुभएको हो । नेपालले अध्यक्षहरूबाटै एक व्यक्ति एक पदको व्यवस्था लागू हुनुपर्ने, विधान अनुसार पार्टी सञ्चालन हुनु पर्ने  लगायतका बुँदा आफ्नो नोट अफ डिसेन्टमा उल्लेख गर्नुभएको छ ।

नेकपाको सचिवालय बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बिहान ११ बजे बोलाइएको छ । पछिल्लो सचिवालय बैठकको निर्णयपछि असन्तुष्ट बनेका नेता नेपाल प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो बोलाएको सर्वदलीय बैठकमा पनि अनुपस्थित हुनु भएको थियो । 

यस्तै बैठकमा जनवर्गीय सङ्गठनका इञ्चार्ज र सहइञ्चार्ज निर्धारणको कामसँगै सम्पर्क समन्वय कमिटी, विशेष प्रदेश कमिटी, प्रवास सङ्गठनको एकता प्रक्रियाका बिषय एजेण्डा बनाइएको महासचिव बिष्णु पौडेलले जानकारी दिनुभयो । भदौ पहिलो साताभित्रै एकताका सम्पुर्ण काम सक्ने गरी तयारी भइरहे पनि नेता नेपालको नोट अफ डिसेन्टका कारण प्रभावित हुने देखिएको छ । 

 


प्रतिक्रिया