नेपाल–भारत संयुक्त आयोग बैठक काठमाडौंमा जारी

रेडियो कान्तिपुर संवाददाता

भाद्र ४, २०७६ | काठमाडौं

नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको पाँचौ बैठक काठमाडौंमा सुरु भएको छ । आन्तरिक तयारी नपुगेको तथा बैठकमा भारतीय पक्षको नेतृत्व गरिरहेका बिदेश मन्त्री सुव्रमण्यम जयशंकर राजनीतिक भेटवार्तामा व्यस्त भएपछि बैठक झण्डै २ घण्टा ढिला गरी सुरु भएको हो ।

नेपाली पक्षको नेतृत्व भने परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले गर्नुभएको छ । द्विपक्षीय आर्थिक साझेदारीलाई सुदृढ तुल्याउनेतर्फ केन्द्रित रहने बैठकबाट नेपाल–भारत सम्बन्धलाई अझ सार्थक, सुदृढ र नेपालको आर्थिक वृद्धिदरमा टेवा पु¥याउन मद्दत पुग्ने विश्वास लिईएको छ ।

तीन वर्षपछि बसेको बैठकमा द्विपक्षीय सम्बन्धको समग्र अवस्थाको पुनरावलोकनका साथै जल, स्थल र हवाई मार्गबाट सम्पर्क सञ्जाल विस्तारका साथै पारस्परिक सम्बन्धमा विश्वास अभिवृद्धिका लागि हरसम्भव प्रयास हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारतले भने सीमा सुरक्षा र बाढी नियन्त्रणको विषयमा छलफल गर्ने बुझिएको छ । बैठकमा विगतमा भएका सहमति र सम्झौताको समीक्षा, नेपाल–भारत बहुआयमिक सम्बन्धका समग्र पक्षमा गहन छलफल हुनका साथै राजनीतिक सम्बन्ध, सिमाना र सुरक्षा, आर्थिक सहयोग एवं पूर्वाधार, व्यापार तथा पारवहन, ऊर्जा र जलस्रोत, संस्कृति र शिक्षाबारे विचारविमर्श हुनेछ ।

बैठकमा दुवै देशका परराष्ट्रमन्त्री, सचिवलगायतका प्रतिनिधिहरु सहभागी छन् । 


प्रतिक्रिया