एक वर्षमा १६ सय ६१ पसलको अनुगमन

भाद्र ५, २०७६ | काठमाडौं

बजारलाई व्यवस्थित बनाउन र उपभोक्ता ठगीन नदिन भन्दै सरकारले बजार अनुगमनलाई तीब्रता दिएपनि अपेक्षित रुपमा काम हुन सकेको छैन । निरन्तर रुपमा बजार अनुगमन हुने गरेपनि त्यो प्रभावकारी भने हुन सकेको छैन ।

जनशक्ति अभाव लगायत कारण अपेक्षित रुपमा बजार अनुगमन गर्न नसकेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन शाखाका निर्देशक शोभाखर रेग्मीले बताउनुभयो । गत आर्थिक वर्ष २८ वटा व्यवसायिक फर्ममा अनुगमन गर्ने लक्ष्य रहेपनि जनशक्ति अभाव लगायत कारण लक्ष्य हासिल हुन नसकेको रेग्मीको भनाई छ ।

विभागले चालू आर्थिक वर्षको पहिलो महिनामा बजार अनुगमनबाट ३ लाख रुपैयाँ बढी राजश्व संकलन गरेको छ । विभागले आज पत्रकार सम्मेलन गर्दै गत साउन महिनामा ४१ व्यवसायिक फर्मबाट जरिवाना बापत ३ लाख ३७ हजार रुपैयाँ संकलन भएको जनाएको हो ।

गत साउनमा बजार अनुगमन गरिएका कुल ८४ वटा व्यवसायिक फर्म मध्ये कैफियत भेटिएका ३ वटामा सिलबन्दी गरिएको तथा २४ वटा फर्मलाई स्पष्टिकरण सोधिएको विभागले जनाएको छ । अनुगमनका क्रममा कैफियत भेटिएका ७ वटा व्यवसायिक फर्मको कारोबार रोक्का गरिएको विभागले जनाएको छ ।

यस्तै, गत आर्थिक वर्ष २०७५/७६ मा १ हजार ६ सय ६१ व्यवसायिक फर्मको बजार अनुगमन गरी ३१ वटामा सिलबन्दी गरिएको विभागले जनाएको छ । गत वर्ष अनुगमन गरिएका १६ सय ६१ मध्ये १ सय ६१ वटालाई जरिवाना गराई ४३ लाख २१ हजार रुपैयाँ राजश्व संकलन गरिएको विभागले जनाएको छ । काठमाडौं उपत्यका भित्रका मात्रै १४ सय १२ वटा व्यवसायिक फर्मको अनुगमन गरिएको विभागले जनाएको छ ।


प्रतिक्रिया