गाउँको पर्यटन प्रवर्द्धनमा जुट्दै भुजुङबासी

भाद्र ६, २०७६ | (लमजुङ

करीब १ हजार २ सय वर्ष पुरानो मानिएको लमजुङको क्व्होलासोंथर गाउँपालिका ४, भुजुङका बासिन्दा पर्यटन प्रवर्द्धन गर्न जुटेका छन् । संघीय संरचनाअघि एक गाउँ, एक गाविसले चिनिएको भुजुङका बासिन्दा गाउँमा पर्यटन प्रवर्द्धन गर्न एकमत भएका हुन् ।

२०६४ मा पहिलोपटक भुजुङ महोत्सव मनाएका स्थानीयले यसपटक भुजुङ पर्यटन महोत्सव मनाउन जुटेका हुन् । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा लिएकोमा भुजुङका बासिन्दाले आयोजना गर्ने पर्यटन महोत्सवले सरकारी लक्ष्यलाई सघाउ पुग्ने दाबी गरेका छन् ।

पर्यटन व्यवस्थापन उपसमिति भुजुङका अध्यक्ष तुलबहादुर गुरुङका अनुसार पर्यटकीय भुजुङ गाउँमा पछिल्लो समय पर्यटकीय आकर्षण बढेको छ । गाउँमा २२ घरमा होमस्टे सञ्चालन गरिएका छन् । हिउँदमा कहिलेकाहीँ होमस्टेमा पर्यटक अट्दैनन् । गाउँको पर्यटन प्रवर्द्धन गर्न असोज १३, १४ र १५ गते भुजुङ पर्यटन महोत्सव आयोजना गरिने उहाँले बताउनुभयो ।

‘हामी हाम्रो गाउँलाई लुकेको गाउँ भन्छौं । कुमारी गाउँ भन्छौं । गाउँमा आएपछि मात्रै यति ठूलो गाउँ रहेछ भन्ने जानकारी हुन्छ’ बेंसीसहरमा बिहीबार आयोजित पत्रकार भेटघाटमा उहाँले भन्नुभयो, ‘लुकेको गाउँलाई उजागर गर्न हामी महोत्सव मनाउन जुटेका हौं ।’

बेंसीसहरस्थित उत्तर–पश्चिममा पर्ने भुजुङ गाउँ समुन्द्री सतहदेखि १ हजार ६ सय ५० मिटर उचाईमा पर्छ । बेंसीसहरबाट ३२ किलोमिटरको भुजुङ जीपको माध्यमबाट २ देखि साढे २ घण्टामा पुग्न सकिन्छ । ९० प्रतिशत गुरुङ र बाँकी दलित समुदायको बसोबास रहेको भुजुङमा धन्सार सहित ५ सय बढी घर छन् । ४ सय घरमा मानिसको बसोबास छ । ‘यहाँको मुख्य पेशा कृषि, पशुपालन, व्यापार र वैदेशिक रोजगारी हो । अब हामी पर्यटन प्रवर्द्धनका माध्ययमबाट गाउँमै रोजगारीको अवसर सिर्जना गर्न चहान्छौं’ वडा अध्यक्ष खिमबहादुर गुरुङले भन्नुभयो ।  

भुजुङ रीतिथिति व्यवस्थापन समितिका अध्यक्ष कालबहादुर गुरुङका अनुसार भुजुङमा गुरुङ जातीका हरेक संस्कृति पाइन्छ । स्थानीय कला, संस्कार, संस्कृति एवं परम्परा साथै रीतिथितिको जगेर्ना गर्न पनि महोत्सव मनाउन आवश्यक ठानिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,  ‘बिहान उठेर घरबाट बाहिर निस्कने बित्तिकै लमजुङ हिमाल देख्न पाइन्छ । हारियाली वनजंगल, वनजंगलमा विभिन्न चराचुरुंगी तथा वन्यजन्तुका आवाज सुन्न पाइन्छ । स्थानीयको रहनसहनले पर्यटक खुसी हुन्छन् ।’ एकै ठाउँमा घरहरु गुचुमुचु भएर बसेकाले पनि पर्यटकले भुजुङलाई रुचाएको उहाँको भनाई छ ।

स्थानीयबासी समेत रहेका क्व्होलासोंथर गाउँ कार्यपालिका सदस्य गमीमाया गुरुङका अनुसार स्थानीयले २०६४ मा प्रथम भुजुङ महोत्सवको आयोजना गरी ग्रामीण पर्यटन प्रवर्द्धनका कार्यक्रम थालेका थिए । विभिन्न संघ संस्था र स्थानीयको सक्रियतामा महोत्सव मनाइएको थियो ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय भुजुङको सहयोगमा आर्थिक तथा प्राविधिक सहयोगमा स्थानीय जनताको आय आर्जनका लागि घरबास पर्यटन (होमस्टे टुरिजम) को सुरुवात गरिएको हो । त्यतिबेला १५ वटा होमस्टेबाट थालनी गरिएकोमा अहिले होमस्टेको संख्या २२ पुगेको छ । आगामी ५ वर्षभित्र ५० वटा होमस्टे पुर्‍याउने लक्ष्य समितिले लिएको छ । 

गाउँको होमस्टे पर्यटन विकास गर्न, ग्रामीण पर्यटनको अवधारणालाई मूर्तरुप दिई स्थानीय जनताको आय आर्जनमा वृद्धि गराउन, महोत्सव मार्फत राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा भुजुङ गाउँको प्रचारप्रसार गरी होमस्टे पर्यटनको प्रवर्द्धन गर्न, होमस्टे पर्यटनको विकास गरी स्थानीय जनताको जीवन स्तर माथि उठाउन, गण्डकी प्रदेश सरकार मुख्यमन्क्रीको विशेष कार्यत्रम अनुसार नमुना वातावरण मैक्री कृषि क्षेत्र कार्यत्रमलाई सहयोग पुर्‍याउँंदै अर्गानिक भिलेजको रुपमा प्रचार प्रसार गर्न, गुरुङ संस्कार, कला संस्कृति र परम्परालाई संरक्षण एवं सम्बर्द्धन गर्न, महोत्सवबाट आर्थिक संकलन गरी गाउँमा पर्यटन प्रवर्द्धनको लागि पूर्वाधार विकास गर्ने लगायत उद्देश्यले महोत्सव गर्न लागिएको महोत्सव मूल आयोजक समितिका सचिव पित्रमान गुरुङले बताउनुभयो ।

महोत्सवमा सांस्कृतिक झाँकी प्रद्धर्शनी, स्थानीय हस्तकलाका सामाग्री प्रद्धर्शनी, स्थानीय स्तरमा उत्पादित कृषि प्रदर्शनी, स्थानीय खाना र परिकारको चमेना गृह सञ्चालन, स्थानीय तथा ख्याति प्राफ्त कलाकारद्धारा सांस्कृतिक कार्यक्रम, लोकदोहोरी लगायत कार्यत्रम रहने वडा सदस्य डीलबहादुर गुरुङले बताउनुभयो । महोत्सव सञ्चालन गर्न १६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । महोत्सव सफल बनाउन मूल आयोजक समिति, सल्लाहकार समिति, मञ्च सजावट उप समिति, पाहुना सत्कार तथा व्यवस्थापन उप समिति, आर्थिक उप समिति लगायत गठन गरिएको छ ।


प्रतिक्रिया