प्रदेश २ मा हरित प्रदेश अभियान

भाद्र ६, २०७६ | धनुषा

प्रदेश २ तीन जिल्लामा फैलिएको सागरनाथ वन विकास परियोजनामा हरित प्रदेश अभियान अन्तर्गत वृक्षारोपण थालिएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले महोत्तरीको लक्ष्मिनिया स्थित परियोजनाको ब्लक बीमा शुक्रबार वृक्षारोपण थालेको हो ।

हरित प्रदेश अभियान अन्तर्गत सागरनाथ वन विकास परियोजनाको २० हेक्टरमा ३२ हजार बिरुवा रोप्ने कार्यक्रम रहेको उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले बताउनुभयो । वृक्षारोपण शुभारम्भ कार्यक्रममा प्रदेश २ का मन्त्रीहरु सहभागी भएका थिए । २०३७ सालमा महोत्तरी, सर्लाही र रौतहटको १३ हजार ५ सय १२ हेक्टर क्षेत्रफलमा काठ दाउरा उत्पादनका लागि सागरनाथ वन विकास परियोजना स्थापना भएको थियो । 

२०६२ देखि ०६५ सम्म परियोजनाको लपारवाहिले वन काठ तस्करले सिध्याएका थिए । कर्मचारी र तस्करको मिलोमतोमा मासिएको वनमा राजनीति संरक्षण पाएकाहरुले वनका जग्गा खरिदबिक्री गर्दै खेतिपाति थालेका थिए । परियोजनाले स्थानीय प्रशासनको सहयोगमा पटक पटक अतिक्रमित क्षेत्रमा वृक्षारोपणका लागि अभियान चलाए पनि सफलता पाउन सकेका छैन।

सर्लाही स्थित सागरनाथ वन परियोजनाको कार्यलयमा शुक्रबार प्रदेश २ सरकारको मन्त्रिपरिषद्को बैठक बस्दैछ । सागरनाथ वन परियोजनाको अधिकार क्षेत्रलाई लिएर संघ र प्रदेशबीच विवादित बनेको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायले मन्त्रिपरिषद्को बैठकमा सागरनाथ वन परियोजनाको संरक्षण, रेखदेख र वृक्षारोपण सम्बन्धमा पनि छलफल हुने बताउनुभयो । प्रदेश सरकारलाई थाहै नदिई संघीय सरकारले सागरनाथ वन परियोजनालाई द टिम्बर कर्पोरेशनमा गाभेर नेपाल वन लिमिटेडमा परिणत गराउने निर्णय गरेको छ । त्यो निर्णयको विरुद्धमा प्रदेश २ को सरकारले सर्वोच्च अदालतमा रिट दायर गरेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा पठाइएको त्यो रिट अहिले विचाराधिन अवस्थामा छ । 


प्रतिक्रिया