७८ करोड बराबरका योजना उपभोक्ता मार्फत 

भाद्र ६, २०७६ | बुटवल 

पूर्वाधार विकासका कामलाई छिटो छरितो र प्रभावकारी बनाउन रुपन्देहीको बुटवल उप–महानगरपालिकाले उपभोक्ता समितिमार्फत काम थालेको छ । नगर र वडा दुवै स्तरका योजना जनसहभागितामा सञ्चालन गरिएको उपमहानगरले जनाएको छ । 

गत आर्थिक वर्षमा बुटवलमा ६ सय ९३ वटा योजना उपभोक्ता समिति मार्फत सञ्चालन भएका थिए । त्यसमध्ये ५ सय ३४ योजना सम्पन्न भएका छन् । योजनामा ७८ करोड ९७ लाख २८ हजार दुई सय पाँच रुपैयाँ खर्च भएको छ ।

उपभोक्ता समितिले गरेका कामको प्राविधिक सहितको टोलीले अनुगमन गरेर रकम भुक्तानी दिने योजना अनुगमन तथा सुपेरिवेक्षण महाशाखा प्रमुख शिवनारायण शाहले बताउनुभयो । कम लागतमा सञ्चालन गर्न र उपभोक्ताबाट समेत रकम जुटाउन सकिने भएकाले उपमहानगरले उपभोक्ता समिति मार्फत गर्ने कामलाई प्राथमिकता दिएको उहाँले बताउनुभयो । 

उपमहानगरमा १ करोड रुपैयाँसम्मका योजना उपभोक्ता समितिले गर्न सक्ने अख्तियारी दिएको छ । उपमहानगर भित्रका अधिकांश सडक निर्माण, ढल निकास, खानेपानी लगायतका पूर्वाधार विकासका काम गर्न उपभोक्ता समिति गठन भएका छन् । त्यसमा उपभोक्ताले लागत साझेदारी समेत जुटाएका छन् । उपमहानगरले ६० र उपभोक्ताले ४० प्रतिशत लगाउने नीति बनाएको छ । 


प्रतिक्रिया