पर्यटन मैत्री नीतिका लागि प्रदेश सरकारसँग आग्रह

रेडियो कान्तिपुर संवाददाता

भाद्र ६, २०७६ | धनकुटा

धनकुटाका पर्यटन व्यवसायीहरुले पर्यटन मैत्री नीति निर्माणका लागि प्रदेश १ सरकारसँग आग्रह गरेका छन् । धनकुटाको भेडेटारका पर्यटन तथा होटल व्यवसायीले मुख्य मन्त्री शेरधनलाई भेटेर सो क्षेत्रको पर्यटन विस्तार तथा प्रर्वद्धनका लागि पर्यटन मैत्री नीति बनाउन आग्रह गरेका हुन् ।

साहशिक खेल पर्यटन सञ्चालन र पूर्वाधार ब्यबस्थापनका लागि आवश्यक नीति बनाएर कानूनी बाटो सहज बनाइ दिन उनीहरुले मुख्यमन्त्री राई समक्ष आग्रह गरेका छन् । स्काइ वाक, जिप फ्लायर, प्याराग्लाइडिङ्ग र क्नोइङ्ग जस्ता साहशिक खेल सञ्चालन र पूर्वाधार निर्माण गर्न लगानीको वातावरण बनाईदिन प्रदेश सरकारको भूमिका आवश्यक रहेको उनीहरुको भनाई छ ।

भेडेटारमा संयुक्त प्रतिनिधिमण्डल सँगको भेटमा मुख्यमन्त्री राईले विस्तृत सम्भाव्यता अध्ययन र परियोजना प्रस्ताव आए नीतिगत र कानूनी अड्चन फुकाएर पर्यटकीय पूर्वाधार निर्माणका लागि सहयोग गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

आवश्यक पूर्वाधार संरचना निर्माणका लागि उपयुक्त बजेटको ब्यवस्था गरिने र त्यसका लागि स्थानीयस्तरमा वातावरण तयार पार्न स्थानीयसँग उहाँले आग्रह गर्नुभयो ।  भेडेटारमा साहशिक खेल पर्यटनका पूर्वाधार संरचना निर्माण र संचालनका लागि लगानी गर्न पर्यटनका क्षेत्रमा काम गर्ने निजी प्रतिष्ठानहरुले चासो देखाएका छन् । सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० का लागि भेडेटार मुख्य पर्यटकीय गन्तव्य हुनसक्ने स्थानीय बताउँछन् । 


प्रतिक्रिया