सगरमाथा डाइलग आगामी मार्चमा

रेडियो कान्तिपुर संवाददाता

भाद्र ६, २०७६ | काठमाडौं

नेपालले आफ्नो सरोकार र अन्तर्राष्ट्रिय चासोका मुद्दाहरुमा बहस गर्ने/गराउने गरी ‘सगरमाथा डाइलग’ सुरु गर्ने भएको छ । आगामी मार्च महिनामा गरिने यो संवाद कार्यक्रमका लागि ‘जलवायु परिवर्तन, पर्वतीय वातावरण र अर्थतन्त्र’ विषयक शीर्षक निर्धारण गरिएको छ ।

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको अध्यक्षतामा सिंहदरबारमा आज बसेको निर्देशक समितिको बैठकले डाइलगको सम्पर्क कार्यालय त्रिपुरेश्वरस्थित परराष्ट्र मामला अध्यन प्रतिष्ठानमा राख्ने निर्णय गरेको छ ।

मन्त्री ज्ञवालीले भन्नुभयो, ‘नेपाललाई प्रत्यक्ष सरोकार राख्ने बिषय, क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरुमा विशिष्ट विज्ञहरुको राय लिने र बहस मञ्चको रुपमा यो डाइलगलाई विस्तार गर्ने सोच राखिएको छ, यसमा वातावरण, मौसम परिवर्तन, ऊर्जा, पर्वतीय अर्थतन्त्र, मौलिक परम्परा, राजनीतिक उपलब्धी वा शान्ति स्थापना आदि जस्ता राष्ट्रिय/अन्तर्राष्ट्रिय विषयहरु सरोकारमा आउनेछन् ।

परराष्ट्रको नीति योजना विकास कूटनीति महाशाखाका अनुसार, राष्ट्रसंघीय निकायका विषयविद्, विभिन्न मुलुकबाट सरकार प्रमुख र विज्ञहरु गरेर झण्डै २ सय जनालाई पहिलो बैठकमा आमन्त्रण गरिने भएको छ । स्थायी मञ्चका रुपमा रहने डाइलगले हरेक २ वर्षमा विषयगत रुपमा छलफल चलाउनेछ । 

बैठकमा परराष्ट्र सचिव शंकर बैरागीसहित विभागीय प्रमुखहरुको उपस्थिति थियो ।


प्रतिक्रिया