देश ‘कम्युनिष्ट स्टेट’ तिर उन्मुख : सभापति देउवा

भाद्र ६, २०७६ | सुर्खेत

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश ‘कम्युनिष्ट स्टेट’ (कम्युनिष्ट शासन व्यवस्था) तिर अघि बढेको दाबी गर्नु भएको छ । विचार तथा अभिव्यक्ति स्वतन्त्रा, प्रेस स्वतन्त्रता, राजनीतिक अधिकारजस्ता लोकतन्त्रका आधारभूत मान्यतामाथि धावा बोल्दै सरकारले साम्राज्यवादी शैली अंगिकार गरेको उहाँले आरोप लगाउनुभयो । 

‘जताततै डर–त्रास छ, पत्रकारले समेत स्वतन्त्रपूर्वक लेख्न पाउने अवस्था छैन,’ शुक्रबार सुर्खेतमा आयोजित पार्टीको प्रादेशिक प्रशिक्षण कार्यक्रममा उहाँले भन्नुभयो, ‘अरु त अरु, मानव अधिकार आयोगमाथि समेत हस्तक्षेप भएको छ, अब कहाँ रह्यो लोकतन्त्र ?’ सरकारको कार्यशैलीले देशमा खतराको संकेत गरिरहेको उहाँले बताउनुभयो । 

सभापति देउवाले यस्तै अवस्थाबाट देश अघि बढे कांग्रेसले पूर्णलोकतन्त्रको लागि अन्तिम लडाइँ लड्नुपर्ने अवस्था आउनसक्ने चेतावनी दिनुभयो । २००७ साल यताका हरेक आन्दोलन पूर्णलोकतन्त्रको लागि भएपनि सोअनुरुप जनताले प्रत्याभूति गर्न नपाएको उहाँको भनाई थियो ।

पूर्णलोकतन्त्रको लागि संघीय गणतन्त्र ल्याए पनि सरकारले संघीयता र गणतन्त्रमाथि नै धावा बोलिरहेको उहाँले बताउनुभयो । ‘अब कम्युनिष्टलाई सदाको लागि सिध्याउनुपर्नेछ,’ देउवाले भन्नुभयो, ‘अन्तिम लडाइँको लागि तपाइँहरु तयार रहनुहोला ।’

पूर्व प्रधानमन्त्री समेत रहेका सभापति देउवाले पार्टीमा अनुशासन मौलाउँदै गएकोमा चिन्ता समेत व्यक्त गर्नुभयो । अनुशासनहीन काम गर्ने जोकोहीलाई कारबाही गरिने पनि उहाँले बताउनुभयो । ‘जुन पार्टीमा अनुशासन छैन, त्यो कसरी चल्छ ?’ उहाँले भन्नुभयो, ‘अनुशासनहीनलाई कारबाही गर्नको लागि सहमति आवश्यक पर्दैन, प्रमाणको आधारमा कारबाही अघि बढाइन्छ ।’

सभापति देउवाले चुनावी पराजयलाई बिर्सेर एकताबद्ध भई अघि बढ्न पनि कार्यकर्तालाई निर्देशन दिनुभयो । केन्द्रीय सदस्य जीवनबहादुर शाहीको सभापतित्वमा भएको कार्यक्रममा उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय सशांक कोइराला र पूर्णबहादुर खड्का लगायतले पार्टीलाई गुटमुक्त बनाउँदै आगामी निर्वाचनमा ‘एक नम्बर’ पार्टी बनाउने गरी संगठन निर्माणमा जुट्न नेता/कार्यकर्तालाई निर्देशन दिनुभयो । 


प्रतिक्रिया